२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

चाडपर्व विशेष सुरक्षा : पश्चिम नवलपरासीमा ४२५ प्रहरी परिचालन, चार स्थानमा यात्रु सहायता कक्ष

२०८१ आश्विन १८, शुक्रबार प्रकाशित ( हफ्ता अघि) २३५ पाठक संख्या

मोहन पौडेल
परासी, १८ असोज । दशैँ,तिहार तथा छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरेर पश्चिम नवलपरासीमा विशेष सुरक्षा व्यवस्था मिलाईएको छ । चाडपर्व विशेष सुरक्षाका लागि ४२५ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
चाडपर्वको समयमा कुनै पनि अप्रिय घटना तथा अवाञ्छित गतिविधि नहोस् भनेर जिल्ला सुरक्षा समितिबाट एकिकृत सुरक्षा योजना बनाई लागू गरिएको डिएसपी बोहराले बताउनुभयो । बिजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा हुन सक्ने चोरी, डकैती, लुटपाट तथा शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने अपराधिक कृयाकलापहरु हुन तथा गर्न नदिई शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन सक्ने गरी जिल्लाभर प्रहरी तैनाथ गरि विशेष सुरक्षा व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।
चाडपर्वको समयमा यात्रुलाई सुरक्षा र सहयोग गर्न जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिएको छ । डिएसपी बोहराका अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत सुनवल–१२ भूमही र बर्दघाट–४ टिसीएन चोक,भैरहवा–भूमही हुलाकी सडक अन्र्तगत रामग्राम–५ वाईपास चोक र नेपाल–भारत सीमा क्षेत्र अन्र्तगत पाल्हीनन्दन–१ महेशपुर नाकामा गरि चार स्थानमा विहीबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।
“यात्रुलाई सुरक्षित र सहज आवागमनमा सहजिकरण गर्दै बढि भाडा असुल्ने, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, आरक्षण सिट तथा यात्रुको सामान छुट्ने लगायत ट्राफिक नियम बिपरीत सवारी साधन चलाउने जस्ता गतिबिधी निस्तेज गर्न सहायता कक्ष सञ्चालन गरिएको हो”, डिएसपी बोहराले भन्नुभयो।
यात्रु बाहक सवारी साधनहरुमा सादा पोशाकमा प्रहरी परिचालन छ भने घटना दुर्घटना भएमा तत्काल प्रहरी परिचालन र तत्काल उद्धार टीम(क्यूआरटी) तयारी अवस्थामा राखिएको छ । चौबिसै घण्टे राजमार्ग बिशेष चेकिङ्ग सहित पूर्वपश्चिम राजमार्ग तथा हुलाकी राजमार्गमा हतियार सहितको क्रस पट्रोलिङ्ग खटाईएको डिएसपी बोहराले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चाडपर्वको समयमा बैंक, बित्तीय सँस्था, सुनचाँदी पसल लगायत आर्थिक कारोबार बढी हुने स्थानको सुरक्षाका लागि सादा पोशाक र यूनिफर्ममा प्रहरी परिचालन गरिएको छ । लागूऔषध, हातहतियार, अबैध गतिविधि नियन्त्रणका लागी सीमा नाकामा सोधपुछ तथा जाँचको ब्यवस्था मिलाइएको छ । जनचेतनामूलक सुरक्षा पर्चा तथा सन्देश प्रवाह गरिएको छ भने मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँचमा कडाइका लागि बिभिन्न स्थानमा चौबिसै घण्टा ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ्ग खटाईएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह लगायत सरोकारवाला निकायहरुसंग समन्वय गरी बजार अनुगमन तिब्र पारी कालोबजारी, मिसावट, मुल्यसुचि नराख्ने, म्याद गुज्रेका सामान बेचबिखन तथा कृत्रिम अभाव सिर्जना गर्ने लगायतमा कडाइका साथ निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस