२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम स्तूपबारेको भारतीय अफवाह प्रकरण : जिल्ला प्रशासनद्धारा कोषलाई पत्राचार,सरोकार निकायबीच छलफल

२०८० कार्तिक १२, आईतबार प्रकाशित (0 महिना अघि) ४०१ पाठक संख्या

परासी, १२ कात्तिक । रामग्राम स्तूपबारे भारतले फैलाएको अफवाहको विषयमा सवत्र आलोचना हुन थालेपछि आज पश्चिम नवलपरासीका सरोकार निकायहरुबीच छलफल भएको छ । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को अग्रसरतामा लुम्बिनी विकास कोष, प्रमुख जिल्ला अधिकारी , नागरिक समाज, समाजसेवी,सञ्चारकर्मीसहितको प्रतिनिधि मण्डलबीच छलफल भएको हो ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नं.७ उजैनी गाउँमा रहेको स्तूप नै रामग्राम स्तूप भएको भनी पुरातत्वविद्हरुले प्रमाणित गरिसकेको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको बौद्ध स्थललाई रामग्राम स्तूप भनी प्रचार गर्न थालेपछि यस विषयमा जिल्ला स्तरबाट के गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायका प्रतिनिधिहरुबीच छलफल गरिएको जिल्ला समन्वय समितिका प्रमुख यादवले जानकारी दिनुभयो ।
नागरिक समाज तथा स्थानीयवासीले भारतले रामग्राम स्तूपको बारेमा गरिरहेको दुष्प्रचार रोक्न दबाब दिएपछि जिल्लाका सरोकार निकायहरुको ध्यानाकर्षण भएको र भ्रमपूर्ण प्रचारबाजी तोड्न जिल्लास्तरबाट गर्न सकिने पहलका बारेमा छलफल भएको उहाँले बताउनुभयो ।
भारतले रामग्राम रहेको दाबी गरेको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका सरकारी अधिकारीहरुसँग भेटवार्ता गरि ध्यानाकर्षण गराउने विषयमा पनि छलफल भएको र त्यसका लागि सम्बन्धित मन्त्रालयसँग अनुमति लिएर अघि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिले आफ्नो तर्फबाट नेपाल सरकारका सम्बन्धित निकायहरुमा आवश्यक पहल कदमीका लागि पत्राचार गर्ने काम भएको उहाँले उल्लेख गर्नुभयो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले नागरिक समाजबाट ध्यानाकर्षण भएपछि भारतले गरेको दुष्प्रचारबारे आधिकारिता खोज्ने काम भईरहेको बताउनुभयो । नागरिक समाजले बुझाएको ज्ञापनपत्रको आधारमा लुम्बिनी विकास कोषलाई यसबारे आवश्यक पहल गर्न र पुरातत्व विभागसँग समेत समन्वय गर्न पत्राचार गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई(सिद्धिचरण)ले रामग्राम र देवदहको विषयमा भारतले गरिरहेको भ्रमपूर्ण प्रचारको विषयमा मिडिया आएदेखि नै कोषको ध्यानाकर्षण भएको र यस विषयमा कोषले आवश्यक पहल थालिसकेको बताउनुभयो ।
विगतमा गरिएका उत्खनन् र पुरातत्वविदरुको अध्ययन अनुसन्धानले नवलपरासीको उजैनीमा रहेको स्तूप नै रामग्राम स्तूप भएको प्रमाणित भईसकेकोले भारतले आफ्नो भूमिमा पनि रामग्राम छ भनी प्रचार गर्नु गलत भएको उहाँले बताउनुभयो । नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले यस विषयमा सरकारले कुटनीतिक पहल गरि दुष्प्रचारको खण्डन गर्नुपर्ने बताउनुभयो ।

उहाँले रामग्राम स्तूप परिसरमा स्तूपको चिनारीका लागि राखिएका होर्डिङ बोर्डहरु अक्षर चिन्न नसकिने गरि खुईलिएकोले तत्काल होर्डिङ बोर्ड परिवर्तन गर्न तथा लुम्बिनीसहित विभिन्न महत्वपूर्ण स्थानमा रामग्रामको विषयमा होर्डिङ बोर्ड राख्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउनुभएको थियो । नागरिक समाजका अगुवा रामजी ज्ञवालीले सरकारले उपेक्षा गरेका कारण रामग्रामको विकास हुन नसकेको बताउँदै रामग्राम स्तूप क्षेत्रको विकासमा ध्यान दिन र भारतीय अफवाहको विषयमा आवश्यक प्रक्रिया अघि बढाउन जोड दिनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस