२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रतापपुर गाउँपालिकामा अध्यक्ष र प्रशासकीय अधिकृत चढ्ने गाडी बन्यो एम्बुलेन्स

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) १४५९ पाठक संख्या

मोहन पौडेल 
परासी, ४ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएको छ ।
गाउँपालिकाकि कार्यबाहक अध्यक्ष अञ्जु चौधरी र प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले आफूले प्रयोग गर्ने गाडी एम्बुलेन्स बनाउनुभएको हो ।
दोस्रो लहरको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्दै गएपछि बिरामी ओसार पसार गर्न एम्बुलेन्स अभाव भएकोले आफूहरू चढ्दै आएको गाडीलाई नै एम्बुलेन्स बनाएको काबा अध्यक्ष चौधरीले दैनिक 24 खबर डटकमलाई भन्नुभयो ।
महामारी बढ्दै गएको तर गाउँपालिका भित्र रहेको एक मात्र एम्बुलेन्सले पर्याप्त सुविधा दिन सक्ने अवस्था नरहेको हुँदा आफूले प्रयोग गर्दै आएको बोलेरो जिपलाई एम्बुलेन्स बनाएको उहाँले बताउनुभयो । प्रतापपुरमा जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रको एउटा मात्र एम्बुलेन्स रहेको छ ।
नागरिकको सुरक्षा तथा उपचार पहिलो प्राथमिकता भएका कारण राज्यका स्रोत साधन कोभिड विरुद्ध केन्द्रित गर्नु पर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ ।
कोभिड – १९ सँग जुध्नका लागि सबै प्रकारका अभियानमा जुटेको गाउँपालिकाले विपदमा आफ्नो स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउन समेत नागरिकलाई आव्हान गरेको छ ।
गाउँपालिकाले त्रिभुवन क्याम्पस बेलाटारीमा एक जना विशेषज्ञ चिकित्सक र चार जना स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन सहितको पन्ध्र शय्याको र सेमरीस्थित जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई शय्याको आकस्मिक प्रयोजनको अक्सिजनसहितको आईसोलेसन सञ्चालन गरेको छ । प्रतापपुरमा हाल सक्रिय संक्रमित ९५ जना रहेका छन् भने ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%६%१%१%१%

प्रतिक्रिया दिनुहोस