

परासी,६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच केन्द्रिय तहमा भएको एकीकरण अनुसार पश्चिम नवलपरासीमा पनि दुवै पार्टीबीच एकता भएको छ ।
दुई पार्टीबीच समायोजन गर्दै सोमबार धरेन्द्र यादवको अध्यक्षतामा ७१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति घोषणा गरिएको हो। यादव जसपा नेपालका अध्यक्ष हुनुहन्थ्यो । नवगठित जिल्ला समितिको उपाध्यक्षमा गोविन्द पटेल,शोभा चौधरी,शेषनारायण सहानी, सचिवमा मदन यादव,सहसचिवमा गौरीशंकर गुप्ता,महेन्द्र यादव,श्यामसुन्दर चौधरी तथा कोषाध्यक्षमा रामकुमार गुप्ता रहनुभएको छ ।
दुवै पक्षका नेता तथा कार्यकर्तालाई समेटेर सर्वसम्मत रूपमा नयाँ जिल्ला समिति निर्माण गरिएको अध्यक्ष यादवले बताउनुभयो । जसपा नेपाल र लोसपा नेपालबीच केन्द्रीय तहमा एकीकरणको सहमति भएपछि पश्चिम नवलपरासीमा पनि संगठनात्मक समायोजनको प्रक्रिया अघि बढाइएको हो। यसअघि जिल्लामा दुवै पक्षका छुट्टाछुट्टै नेतृत्व र संगठनात्मक गतिविधि सञ्चालन हुँदै आएका थिए।
केन्द्रिय तहमा समायोजन भएपनि जिल्लामा तत्कालीन जसपा र लोसपा पक्षबीच मतभेद देखिँदै आएको थियो। नयाँ जिल्ला कार्यसमिति घोषणासँगै पार्टीले विगतका सांगठनिक असमझदारी अन्त्य गर्दै एकीकृत संरचनामार्फत जिल्लामा संगठन विस्तार र राजनीतिक गतिविधिलाई अघि बढाउने अध्यक्ष यादवले बताउनुभयो ।
पूर्व रक्षा राज्यमन्त्री एवं पार्टीका केन्द्रिय सदस्य रामबचन यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रिय कार्यकारीणी सदस्य पुरन चौधरी, प्रदेश अध्यक्ष रामवतार यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयो ।