२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विकास कार्यमा प्रहरीले अवरोध गरेको सुनवल मच्छरमारावासीको गुनासो

२०७९ माघ १७, मंगलबार प्रकाशित ( साल अघि) ३७६ पाठक संख्या

सुनवल, १७ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ४ मच्छरमाराका स्थानीयबासीले प्रहरी प्रशासनले विकास कार्यमा अवरोध गरेको गुनासो गरेका छन् । तुरिया खोलाको बाढीको उच्च जोखिममा रहेका मच्छरमाराबासीले खोला नियन्त्रणको लागि तटबन्ध गर्न लाग्दा प्रहरीले अवरोध सिर्जना गरेको भन्दै आक्रोसित भएका हुन् ।
तुरिया खोलाको बाढीले गाउँ नै बगाउने स्थिति आएपछि खोला नियन्त्रणका लागि वडाबाट बजेट विनियोजन भई कार्य शुरुवात गर्दै गर्दा प्रहरीले ढुंगा बोकिरहेको टेक्टर समातेर दुःख दिएको स्थानीयले बताएका छन् । तुरिया खोलाको सेतीपहाड(ल्याण्ड फिल साईट क्षेत्र)मा तटबन्ध लगाउन खोलाको केही टाढाबाट ढुंगा ल्याउनुपर्ने भएकोले नगरपालिकाबाट पूर्व स्वीकृति लिई टेक्टरको प्रयोग गरिएको तर प्रहरीले विकास कार्य नै अवरुद्ध हुने गरी टेक्टर नियन्त्रण लिएर दुःख दिएको तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष भवदत्त पौडेलले वडामा भएको भेलामा बताउनुभयो ।

S2

 

तटबन्ध निर्माणमा ढुंगा ढुवानी गर्न उपभोक्ताको माग बमोजिम नगरपालिकाले तीन वटा सवारी साधनलाई स्वीकृति दिएको थियो । तर नगरपालिकाको पूर्व स्वीकृति पत्र देखाउँदा पनि ईलाका प्रहरी कार्यालय सुनवलले जबरजस्ती ढुंगासहित टेक्टर नियन्त्रणमा लिएपछि काम अवरुद्ध भएको छ भने स्थानीयवासी प्रहरी प्रशासनसँग आक्रोसित बनेका छन् । “दिनहुँ खोलाबाट अवैद्य रुपमा नदीजन्य पदार्थ चोरी निकासी हुँदा आँखा चिम्लने प्रहरीले विकास कार्यमा अनुमति लिएर टेक्टर प्रयोग गर्दा समात्नुको कारण के हो ?” उपभोक्ता समितिका उपाध्यक्ष बुद्धिराम कुम्हालले प्रश्न गर्नुभयो । गत वर्ष यही काम गर्दा बाधा नहुने अहिले बाधा पुर्याएर विकास कार्यमा प्रहरीले अवरोध निम्त्याएको उहाँले बताउनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएको टेक्टर जरिवाना तिरेपछि मात्रै छोड्ने बताएको छ । तर आफूहरुसँग जरिवाना वापत लाग्ने रु ६० हजार तिर्ने अवस्था नरहेको उपभोक्ता समितिले जनाएको छ । तीन वर्षअघि तुरिया खोलाले धार परिवर्तन गर्दा मछडमारा गाउँ बाढीको उच्च जोखिममा छ । खोलाको धारलाई पूरानै अवस्थामा फर्काई खोला नियन्त्रण गर्ने उद्देश्यले बजेट विनियोजन गरेर गत वर्ष पनि मच्छरमाराको सेतीपहाडमा तटबन्धको काम भएको र पूरा नभएकोले यसवर्ष थप बजेट विनियोजन गरेर काम अघि बढाईएको वडा अध्यक्ष बालकृष्ण र्पंगेनीले बताउनुभयो ।
गत वर्ष रु दश लाख बजेटबाट १३६ वटा ग्याभिन जाली लगाईएको थियो भने अहिले पन्ध्र लाख बजेट विनियोजन गरी ११९ ग्याभिन जाली लगाउने गरी काम शुरु भएको थियो । तर प्रहरीले टेक्टर समातेर दुःख दिन थालेपछि स्थानीयवासी चिन्तित भएको स्थानीय लिला पौडेलले बताउनुभयो । कानुन बमोजिम अनुमति लिएर गाउँलाई बाढीबाट जोगाउन उपभोक्ता समितिले टेक्टरको प्रयोग गरी ढुंगा ढुवानी गर्दा प्रहरी प्रशासनले अनाहकमा दुःख दिएको बताउँदै उहाँले यहाँबाट नदीजन्य पदार्थ अन्य ठाउँमा ढुवानी नगरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिनु विकासमा अवरोध गरेको ठहर्ने बताउनुभयो ।
वडा अध्यक्ष पंगेनीले तटबन्ध निर्माणका लागि तीन वटा सवारीको नम्बर नै उल्लेख गरी प्रयोगका लागि अनुमति लिएर समन्वय गरी काम शुरु भएकोमा प्रहरीले अनावश्यक दुःख दिएको बताउनुभयो । “नदीजन्य पदार्थ अन्यन्त्र पठाईएको छैन्, खोलामै तटबन्ध निर्माणका लागि प्रयोग भईरहेको सन्दर्भमा टेक्टर समातिएको छ, यसले विपद व्यवस्थापनमा अवरोध खडा भएको छ”,उहाँले भन्नुभयो ।
सुनवल नगरपाकिा नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणमा सक्रिय भएर लागिरहेको बताउँदै उहाँले चोरी तस्करी प्रोत्साहनमा आफूहरुको कुनै भूमिका नरहेको र नरहने पनि स्पष्ट पार्नुभयो । खोलाजन्य पदार्थको चोरी तस्करी गर्न नदिएपछि उल्टो मिलेमत्तोको आरोप लगाईएको भन्दै वडा अध्यक्ष पंगेनीले आपत्ति जनाउनुभयो । स्थानीयवासीले तत्काल टेक्टर छोड्न र विकासमा अवरोध नगर्न प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

S3

 

खोलाजन्य वस्तुको चोरी निकासी नियन्त्रण गर्न खोज्दा सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्याललाई धम्की पनि आएको थियो । नगर प्रमुख अर्यालले प्राकृतिक स्रोत संरक्षणमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । नदीजन्य पदार्थको अवैद्य चोरी निकासी रोक्न नगरपालिकाले सक्रियता पूर्वक काम गरिरहेको उहाँले बताउनुभयो ।
मछडमारा तटबन्ध नगरको वार्षिक कार्यक्रममै समावेश भएकोले यो योजना कार्यान्वयन गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर नगरपालिकाले काम अघि बढाएको उहाँको भनाई छ । “ढुंगा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १२ को ६ मा पालिका आफैले सञ्चालन गर्ने आयोजनाको लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उपयोग गर्न पाउने प्रावधान बमोजिम नै उपभोक्तालाई तटबन्ध निर्माणका लागि मात्रै प्रयोग गर्ने गरी तीन वटा सवारीको नम्बर उल्लेख गरी प्रयोग गर्न सिफारिस गरिएको थियो, गाउँ जोगाउन जनताको हीतमा काम गर्दा अनावश्यक बाधा व्यवधान खडा गर्नुका साथै नकरात्मक प्रचार गरिएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ”, नगर प्रमुख अर्यालले भन्नुभयो ।
सुनवल नगरपालिका नदीजन्य पदार्थको चोरी तस्करी नियन्त्रणमा संवेदनशील भएर लागेको नगर प्रमुख अर्यालले बताउनुभयो । खोलाजन्य बस्तुको अवैद्य चोरी तस्करी रोक्न नगरपालिकाले ६ जना खोला हेरालु राखेर निगरानी गरेको छ भने तस्करी नियन्त्रणमा ल्याउन जरिवाना पनि दोब्बर बनाईएको उहाँको भनाई छ । नदीजन्य पदार्थ चोरीमा संलग्न सवारी साधनलाई यसअघि नगरपालिकाले रु ३० हजार जरिवाना लिने गरेकोमा अहिले दोब्बर अर्थात रु ६० हजार बनाएपछि चोरी तस्करीमा केही कमी आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अब खोला ठेक्का लगाउने तयारी पनि गरिरहेको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस