२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बलियो संगठनसहितको एकताबद्ध एमाले अहिलेको आवश्यकता

२०७८ श्रावण ७, बिहिबार प्रकाशित ( साल अघि) ९१३ पाठक संख्या

परासी, ७ साउन । नेकपा एमाले नवलपरासीका नेता कार्यकर्ताले बलियो संगठन सहितको एकताबद्ध नेकपा एमाले अहिलेको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा नेकपा एमाले रामग्राम नगर कमिटीले आज परासीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा एमाले नेता थानप्रसाद गैरेले पार्टी भित्रको अन्तर द्वन्दले संगठनमा अन्यौलता बढाएको बताउँदै पार्टी एक बनाउने विषयमा केन्द्रीय नेतृत्वले छिटो निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी एक हुनेमा आशावादी रहेकोले निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अर्का नेता वीरेन्द्र यादवले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीको सरकारलाई मत हाल्ने नेताहरू गद्दार नै भएकोले पार्टी शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो ।
नेकपा एमाले रामग्राम नगर कमिटी अध्यक्ष हरिलाल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले नेता श्याम बस्याल,सुमनगोपाल आचार्य, जिल्ला सचिव राजनकुमार आचार्य, नेपाल पत्रकार महासंघका पूर्व जिल्ला सभापति केशव पराजुली, प्रेस चौतारीका जिल्ला संयोजक मोहन पौडेल, अनेमसंघकि जिल्ला सचिव यमकुमारी सुवेदी, रामग्राम-५ का वडाध्यक्ष विनोद कुंवर लगायतले पुष्पलालको योगदानको चर्चा गर्नुभएको थियोे ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो ।
पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो ।
नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य साथ उहाँले कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।
उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् ।
उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।
राजाले ०१७ साल पुस १ गते प्रजातन्त्र हत्याएपछि पुष्पलालले लामो भूमिगत र निर्वासित जीवन बिताउनुभयो ।
त्यसपछि पुष्पलालले ०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्नुभएको थियो ।
विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस