२०८३ मंसिर २, बुधबार
24 खबर अपडेट

सुस्ताका बाढीपीडित ३१७ परिवारलाई ट्रान्सफरमेशन नेपालको राहत

२०८३ मंसिर २, बुधबार प्रकाशित (१६ घण्टा अघि) १३० पाठक संख्या

परासी,२ मंसिर । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्र पारी सुस्ताका ३१७ घरपरिवारलाई ट्रान्सफरमेशन नेपाल काठमाडौँले राहत सामग्री वितरण गरेको छ।
संस्थाले बाढीपीडित परिवारलाई चामल, ओढ्ने–ओछ्याउने डसना तथा झुललगायतका सामग्री उपलब्ध गराएको हो।
गत भदौ १० गतेदेखि भोटेकोशीमा आएको बाढीका कारण नारायणी नदीपारिको सुस्तामा करिब ८०० मिटर जमिन कटान भएको थियो। त्यसमाथि तीन दिनसम्म परेको अविरल वर्षाले सुस्ताको थारू टोलका घरहरू पूर्ण रूपमा डुबानमा पर्नुका साथै कतिपय घर भत्किने र पुरिने अवस्था सिर्जना भएको थियो।
प्राकृतिक विपद्का कारण प्रभावित बनेका स्थानीय परिवारको पीडालाई मध्यनजर गर्दै राहत वितरण गरिएको हो। लुम्बिनी ख्रिष्टियन समाज समन्वय समितिका संयोजक पास्टर सुरज थापाले ट्रान्सफरमेशन नेपालका राष्ट्रिय निर्देशक विश्व कर्माचार्यसमक्ष राहतका लागि पहल गरेपछि संस्थाले प्रभावित परिवारलाई सहयोग उपलब्ध गराएको हो।
सुस्ता–५ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनको अध्यक्षता तथा सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ यादवको प्रमुख आतिथ्यमा राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा वडाध्यक्ष यादवले बाढीबाट प्रभावित स्थानीयवासीलाई विपद्को कठिन घडीमा सहयोग गर्नुका साथै बढ्दो चिसोलाई लक्षित गरी न्यानो सामग्री उपलब्ध गराएकोमा ट्रान्सफरमेशन नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्का कारण समस्यामा परेका नागरिकलाई विभिन्न संघसंस्था तथा सहयोगी निकायबाट प्राप्त हुने सहयोगले ठूलो राहत पुग्ने बताउनुभयो ।
ट्रान्सफरमेशन नेपालका राष्ट्रिय निर्देशक विश्व कर्माचार्यसहित विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधिहरूले विपद् प्रभावित परिवारलाई सहयोग र सहकार्यको आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा लुम्बिनी ख्रिष्टियन समाज समन्वयका प्रमुख एवं ट्रान्समिसन नेपालका प्रदेश संयोजक पास्टर सुरज थापा, रूपन्देही ख्रिष्टियन समाजका अध्यक्ष पास्टर अशोक शाक्य, नवलपरासी ख्रिष्टियन समाजका जिल्ला सचिव पास्टर शद्रक तामाङ, लुम्बिनी ख्रिष्टियन समाजका कोषाध्यक्ष पास्टर सुमन दर्लामी मगर, रूपन्देही ख्रिष्टियन समाजका उपाध्यक्ष पास्टर प्रेम क्षेत्रीलगायतको उपस्थिति थियो।
जरलैया युवा क्लबको व्यवस्थापन, सुस्ता–५ वडा कार्यालयको सहकार्य तथा नवलपरासी ख्रिष्टियन समाज र जिल्ला ख्रिष्टियन समाज रूपन्देहीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। राहत वितरण कार्यक्रम नवलपरासी इसाई जवान संगतिका निवर्तमान अध्यक्ष एवं जरलैया युवा क्लबका सचिव धीरज गुरुङले सञ्चालन गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस


↑