२०८३ मंसिर २, बुधबार
24 खबर अपडेट

रामग्राममा कांग्रेसको डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला, संगठन सुदृढीकरण अभियान सञ्चालन हुने

२०८३ मंसिर २, बुधबार प्रकाशित (२ घण्टा अघि) ३५ पाठक संख्या

परासी, २ मंसिर । नेपाली कांग्रेसलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै संगठनलाई वडास्तरसम्म थप सशक्त र चलायमान बनाउने उद्देश्यसहित नेपाली कांग्रेस रामग्राम नगर कार्यसमितिले एकमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ।
नगर कार्यसमितिको आयोजनामा बुधबार सम्पन्न डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेलाले नगरपालिकाका १८ वटै वडामा संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियानलाई प्रभावकारी बनाउन नगर समितिले सबै वडामा प्रतिनिधिसमेत खटाएको नगर सभापति बलिराम यादवले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि हिमाल दत्त श्रेष्ठले बदलिँदो समय र प्रविधिको विकाससँगै पार्टी संगठन पनि डिजिटल प्रणालीमा अभ्यस्त हुनुपर्ने बताउनुभयो। उहाँले पार्टीको संगठनात्मक गतिविधि, सदस्यता व्यवस्थापन र सूचना प्रणालीलाई प्रविधिसँग जोड्दै तल्लो तहसम्म पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
नगर सभापति यादवको अध्यक्षतामा सम्पन्न भेलामा १८ वटै वडाका वडा सभापति, पदाधिकारी तथा प्रत्येक वडाका आईटी संयोजकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति विक्रम यादव, महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी र सुनिता श्रेष्ठ, संघीय सभापति बैजनाथ जयसवाल, प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (क) का सभापति जयराम बस्याल, क्षेत्र नं. २ (ख) का सभापति गजानन्द पटेल, पूर्व नगर सभापति श्रीधर बस्याललगायत निर्वाचित वडा अध्यक्ष तथा वडा कार्यसमितिका सभापति र पदाधिकारीहरूले पार्टीको वर्तमान अवस्था, संगठनात्मक चुनौती र भावी राजनीतिक रणनीतिबारे धारणा राख्नुभएको नगर सहसचिव इमामुल अलीले जानकारी दिनुभएको हो।
वक्ताहरूले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै संगठनभित्र एकता, समन्वय र सक्रियता बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए। डिजिटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै पार्टीका गतिविधि तथा संगठनात्मक विवरणलाई व्यवस्थित गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए। उक्त अवसरमा विनोद घिमिरे र अन्जना पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑