२०८३ कार्तिक ३०, सोमबार
24 खबर अपडेट

दोस्रो सरावल मेलामा पोषणयुक्त खाद्य वस्तुको प्रदर्शनी, उपभोक्तालाई सचेतना

२०८३ कार्तिक ३०, सोमबार प्रकाशित (१0 घण्टा अघि) ५१ पाठक संख्या

मोहन पौडेल
परासी,३० कात्तिक। पश्चिम नवलपरासीको सरावल–२ मगरमुडहामा जारी दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा पोषणयुक्त खाद्य वस्तुको प्रवद्र्धन र उपभोक्ता सचेतना अभिवृद्धिका लागि विशेष प्रदर्शनी स्टल राखिएको छ ।
‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत आइडिई नेपालको प्राविधिक सहयोगमा एकीकृत हातेमालो समाज नेपाल (सियान) र बेस नेपालले प्रदर्शनीमा राखेको उक्त स्टलमा ४७ प्रकारका पोषणयुक्त रैथाने बाली तथा खाद्य वस्तु प्रदर्शन गरिएको छ । साथै, खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी जानकारीमूलक सामग्रीसमेत राखिएको छ ।
सियानद्धारा सञ्चालित उक्त परियोजनाका वरिष्ठ तथ्यांक व्यवस्थापन अधिकृत मीन रानाका अनुसार गर्भवती महिला, स्तनपान गराइरहेका आमा, पाँच वर्षमुनिका बालबालिका भएका परिवार तथा आम समुदायलाई लक्षित गरी पोषणयुक्त खाद्य वस्तुको महत्वबारे जानकारी प्रदान गरिएको हो । नवलपरासीका चारवटा पालिकामा परियोजना सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमै उत्पादन हुने पोषणयुक्त खाद्य वस्तिको उत्पादन र उपभोग बढाउँदै समुदायमा यसको माग सिर्जना गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको रानाले बताउनुभयो । स्थानीय उत्पादनलाई घरपरिवारमै उपभोग गर्ने बानीको विकास गर्नुका साथै समुदायलाई समेत प्रोत्साहित गरी स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
प्रदर्शनीमार्फत कृषकलाई गड्यौला मलको प्रयोग गरी प्राङ्गारिक खेती गर्नसमेत प्रोत्साहित गरिएको छ । पोषणयुक्त खाद्य वस्तुको उत्पादन र उपभोगसँगै त्यसको महत्वबारे विभिन्न सचेतनामूलक सन्देश प्रवाह गरिएको छ ।
त्यस्तै, पोषणयुक्त खाना खाएर मात्र स्वस्थ रहन नसकिने भन्दै व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र स्वच्छ वातावरणको महत्वबारे पनि जानकारी दिइएको छ । यसका लागि वास युनिट तथा सुरक्षित पानी प्रयोगसम्बन्धी सामग्री प्रदर्शन गरी उपभोक्तालाई सचेत बनाइएको छ ।
रानाका अनुसार प्रदर्शनी स्टलको अहिलेसम्म दुई सयभन्दा बढीले प्रत्यक्ष अवलोकन गरिसकेका छन् । मेलामा आउने सर्वसाधारणले पोषणयुक्त खाद्य वस्तुको पहिचान, उत्पादन र उपभोगका विषयमा जानकारी लिने अवसर पाएका छन् ।
पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने मुख्य लक्ष्यसहित सञ्चालन गरिएको परियोजनाले स्थानीयस्तरमा उपलब्ध पोषणयुक्त खाद्य वस्तुको उत्पादन तथा उपभोग बढाउँदै कुपोषण न्यूनीकरण र स्वस्थ समुदाय निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑