२०८३ कार्तिक २९, शनिबार
24 खबर अपडेट

रामग्राम कप क्रिकेट प्रतियोगिताको पहिलो उपाधि आयोजक रामग्राम किंग्सलाई

२०८३ कार्तिक २९, शनिबार प्रकाशित (८ घण्टा अघि) ७२ पाठक संख्या

परासी,२८ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम–४ मा सञ्चालित रामग्राम कप क्रिकेट प्रतियोगिता सिजन–१ को उपाधि आयोजक रामग्राम किंग्स क्रिकेट क्लबले जितेको छ।
शनिबार सम्पन्न प्रतियोगिताको रोमाञ्चक फाइनलमा राइजिङ स्टार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै रामग्राम किंग्सले पहिलो संस्करणको उपाधि चुमेको हो।
उपाधिका लागि भएको प्रतिस्पर्धात्मक खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राइजिङ स्टारले उत्कृष्ट प्रदर्शन गर्दै रामग्राम किंग्ससामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। राइजिङ स्टारका हिल्सन क्षेत्रीले सर्वाधिक ५९ रन बनाउँदा सन्दीप केसीले २१ रनको योगदान दिएका थिए।
राइजिङ स्टारलाई मध्यम योगफलमा रोक्न रामग्राम किंग्सका विजय साहनी र प्रेम सागरले समान २–२ विकेट लिए भने दिलीप कुर्मी र सुमित थापाले समान १–१ विकेट हात पारे।
१४३ रनको लक्ष्य पछ्याएको रामग्राम किंग्सले आक्रामक ब्याटिङ गर्दै १३.५ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। रामग्राम किंग्सको जितमा जितेन्द्र साहनी निर्णायक बने। उनले ८८ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यस्तै राजन साहनीले १६ रन जोडे।
राइजिङ स्टारका हिल्सन क्षेत्री र राज पाण्डेयले समान २–२ विकेट लिँदा सागर लामिछानेले १ विकेट लिए। फाइनलमा उत्कृष्ट ब्याटिङ गरेका जितेन्द्र साहनी म्यान अफ द म्याच घोषित भए।
उपाधि विजेता रामग्राम किंग्सले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता राइजिङ स्टारले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ। प्रतियोगितामा सर्वाधिक ३४० रन बनाउनुका साथै २ विकेटसमेत लिएका रञ्जित खत्री म्यान अफ द सिरिज घोषित भए। उनी उत्कृष्ट ब्याट्सम्यानसमेत बने। त्यस्तै प्रतियोगितामा ७ विकेट लिनुका साथै एक खेलमा ५ विकेट हात पारेका कृष्ण शर्मा उत्कृष्ट बलर घोषित भए।
प्रतियोगिताको समापन समारोहमा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले विजेता टोलीलाई पुरस्कार वितरण गर्नुभयो। नगर प्रमुख यादवले प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै रामग्राम क्षेत्रमा क्रिकेटप्रतिको आकर्षण र उत्साह बढाउन महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू निर्वाचित भएपछि खेल क्षेत्रलाई प्राथमिकता दिँदै आएको पनि उल्लेख गर्नुभयो ।
एपाधिसमेत चुम्न सफल आयोजक रामग्राम किंग्स क्रिकेट क्लबका अध्यक्ष दिलीप कुर्मीले रामग्राम कप केवल क्रिकेट प्रतियोगितामा सीमित नभई स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास तथा युवाबीच एकता, अनुशासन र भाइचाराको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम बनेको बताउनुभयो।
उहाँले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै स्थानीय खेलाडीको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रममा रामग्राम–३ का वडाध्यक्ष उज्ज्वल न्यौपाने, जिल्ला क्रिकेट संघका सचिव लक्ष्मण सुवेदी, राप्रपाका जिल्ला अध्यक्ष रामभवन यादव, नेपाल रेडक्रस सोसाइटी रामग्राम नगर संयोजक सन्दीप अग्रहरी, पत्रकार मोहन पौडेललगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑