

परासी, २६ कात्तिक । भोजपुरी चलचित्र तथा संगीत क्षेत्रका चर्चित सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ शुक्रबार पश्चिम नवलपरासीको सरावल आउनहुने भएको छ ।
सरावल गाउँपालिका–२ मगरमुडहामा जारी दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ को विशेष आकर्षणका रूपमा निरहुआ आउन लागेपछि आयोजकदेखि दर्शकसम्म उत्साह बढेको छ।
निरहुआको विशेष सांगीतिक प्रस्तुति कात्तिक २७ गते शुक्रबार दिउँसो २ बजे रहने आयोजक सरावल उद्योग वाणिज्य संघले विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। नवलपरासी जिल्लामै पहिलोपटक निरुहुआको आगमन हुन लागेको आयोजकको दाबी छ।
चर्चित भोजपुरी कलाकारको प्रस्तुति हेर्न स्थानीयदेखि छिमेकी जिल्ला र भारतबाट समेत ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरिएको छ।
सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले सरावललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले जोखिम मोलेरै निरहुआलाई निमन्त्रणा गरिएको बताउनुभयो । दर्शकको माग र चाहनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरका कलाकारलाई समेत मेलामा निमत्याइएको उहाँको भनाइ छ।
निरहुआको प्रस्तुति हेर्नका लागि टिकट दर ४०० रुपैयाँ कायम गरिएको छ भने टिकट काउन्टर बिहान १० बजेदेखि नै खुला रहनेछ। जिल्लामै पहिलोपटक हुन लागेको विशेष प्रस्तुतिलाई सफल बनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ।
संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले मेलाले सरावल क्षेत्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको सफलताका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले स्थापनाको तीन वर्षमै सरावल उद्योग वाणिज्य संघले ठूलो आँट र उत्साहका साथ दोस्रोपटक मेला आयोजना गर्नु प्रशंसनीय भएको बताउनुभयो । गाउँपालिकाले पनि मेलालाई सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले सरावलको पहिचान विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कात्तिक १९ गतेदेखि सुरु भएको मेला आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। मेलामा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारका विभिन्न सांस्कृतिक प्रस्तुति राखिँदै आएका छन्। कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक क्षेत्रको प्रवद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरण र मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
निरहुआको आगमनलाई मेलाको विशेष आकर्षणका रूपमा हेरिएको छ। शुक्रबार मगरमुडहामा दर्शकको ठूलो जमघट हुने र यसले सरावलको सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप उचाइ दिने आयोजकको अपेक्षा छ।