२०८३ कार्तिक २८, शुक्रबार
24 खबर अपडेट

रामग्राम कप क्रिकेटको उपाधिका लागि रामग्राम किंग्स र राइजिङ स्टार भिड्ने,कात्तिक २८ मा फाइनल प्रतिस्पर्धा

२०८३ कार्तिक २७, बिहिबार प्रकाशित (१३ घण्टा अघि) ६४ पाठक संख्या

 

मोहन पौडेल

परासी, २६ कात्तिक । रामग्राम किंग्स क्रिकेट क्लवको आयोजनामा पश्चिम नवलपरासीको रामग्राम–४ मा जारी रामग्राम कप क्रिकेट प्रतियोगिता–२०८३ को उपाधिका लागि रामग्राम किंग्स क्रिकेट क्लब र राइजिङ स्टार क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

सेमिफाइनल चरणका दुवै खेलमा प्रभावशाली जित निकाल्दै यी दुई टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रामग्राम किंग्स क्रिकेट क्लबले भूमही क्रिकेट क्लबलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको रामग्राम किंग्सले निर्धारित १५ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १६० रन बनाएको थियो। किंग्सका रञ्जित खड्काले आक्रामक ब्याटिङ गर्दै ४९ बलमा ८ छक्कासहित अविजित ९६ रन बनाए। त्यस्तै विष्णुले ३१ बलमा ४६ रनको योगदान दिए।

१६१ रनको लक्ष्य पछ्याएको भूमही क्रिकेट क्लब रामग्राम किंग्सका बलरसामु टिक्न सकेन। भूमहीले सबै विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो। भूमहीका पवनले २६ र प्रकाश बरालले १५ रन बनाए। बलिङतर्फ रामग्राम किंग्सका कृष्ण शर्माले ३ ओभरमा ५ विकेट लिँदै टोलीको जितमा निर्णायक भूमिका खेले।

त्यसैगरी दोस्रो सेमिफाइनलमा राइजिङ स्टार क्रिकेट क्लबले रोयल परासी स्ट्राइकर्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा रामग्राम किंग्ससँगको भेट पक्का गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको राइजिङ स्टारले निर्धारित १५ ओभरमा १८१ रन बनाउँदै रोयल परासी स्ट्राइकर्सलाई १८२ रनको लक्ष्य दिएको थियो। राइजिङ स्टारका विकास न्यौपानेले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ९२ रन बनाएपछि टोलीले विशाल योगफल तयार पारेको थियो।

१८२ रनको लक्ष्य पछ्याएको रोयल परासी स्ट्राइकर्सले अपेक्षित प्रदर्शन गर्न सकेन। टोली १०४ रनमै समेटिएपछि राइजिङ स्टारले ७७ रनको शानदार जित दर्ता ग¥यो। रोयलका धिरज गुप्ताले १५ र अभिषेक शर्माले १४ रन बनाए। बलिङतर्फ राइजिङ स्टारका राजले ४ विकेट लिए भने सुप्रिम कँडेलले ३ र विकास न्यौपानेले २ विकेट हात पारे।

दुवै सेमिफाइनलमा ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका रामग्राम किंग्स र राइजिङ स्टार अब उपाधिका लागि आमनेसामने हुनेछन्। प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २८ गते रामग्राम–४ जीतपुरस्थित रामग्राम रंगशालामा हुनेछ। फाइनलमा दुवै टोलीबीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

स्थानीय क्रिकेट प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा जिल्लामा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले रामग्राम क्षेत्रमा क्रिकेटप्रतिको आकर्षण र उत्साह थप बढाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑