

मोहन पौडेल
परासी, १२ असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
विगत एक वर्षमा गाउँपालिकाका ५८८ जना गर्भवती महिलाले शतप्रतिशत स्वास्थ्य संस्थामै सुरक्षित प्रसुति सेवा लिएको उपलब्धिपछि पालिकालाई पूर्ण संस्थागत प्रसुतियुक्त पालिका घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले सुरक्षित मातृत्व प्रत्येक महिलाको मौलिक अधिकार भएको उल्लेख गर्दै संस्थागत प्रसुतिलाई अभियानका रूपमा अघि बढाउँदा प्राप्त सफलता सम्पूर्ण सरावलवासीको साझा उपलब्धि भएको बताउनुभयो। सुरक्षित मातृत्व,नवजात शिशुको स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य सेवामा गाउँपालिका पूर्ण प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
“स्वस्थ आमा नै स्वस्थ समाजको आधार हो,सुरक्षित प्रसुतिलाई व्यवहारमा उतारेर सरावलले मातृ तथा नवजात शिशुको सुरक्षित भविष्यलाई जोड दिएको यथार्थमा देखिएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो। उहाँले स्वास्थ्य सेवा प्रवाहलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल)ले सरावल गाउँपालिकाले हासिल गरेको उपलब्धि अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी भएको उल्लेख गर्नुभयो। उहाँले मातृ मृत्युदर न्यूनीकरण र नवजात शिशुको स्वास्थ्य सुरक्षामा संस्थागत प्रसुतिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। “संस्थागत प्रसुति केवल एउटा स्वास्थ्य सेवा होइन, आमा र नवजात शिशुको सुरक्षित जीवन सुनिश्चित गर्ने आधार हो, यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले गर्भवति महिलालाई नियमित स्वास्थ्य परीक्षण,स्वास्थ्य संस्थामै प्रसुति तथा प्रसुति पछिको स्याहारमा सबैको सहयोग र सहभागिता आवश्यक हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका प्रयास, जनचेतना अभिवृद्धि तथा स्वास्थ्य संस्थाको पहुँच विस्तारका कारण यो सफलता प्राप्त गर्न सकेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगदबहादुर शाहीले संस्थागत प्रसुतिलाई दिगो बनाउन जनचेतना, गुणस्तरीय स्वास्थ्य सेवा र सबै पक्षको सहकार्य निरन्तर आवश्यक रहने धारणा व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा संस्थागत प्रसुति अभियानलाई सफल बनाउन योगदान पु¥याउने गाउँपालिकाअन्तर्गतका सातवटै स्वास्थ्य संस्थाबाट एक–एक जना स्वास्थ्यकर्मीसहित सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरू तथा सहयोगी संस्था इन्द्रेणी सामाजिक विकास मञ्च, फेयर मेड र बेस नेपाललाई प्रशंसापत्र सहित सम्मान गरिएको सरावल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटाले बताउनुभयो ।
कार्यक्रममा स्टार्फ नर्स मनिषा अग्रहरीले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका सुनिश्चित अभियानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने फेयर मेडका तुल्सिराम खनाल,स्वास्थ्य संस्थाहरुको तर्फबाट अशोक पाण्डे,नर्सिङ स्टाफ अनिता चौधरी, महिला स्वास्थ्य स्वयंसेविका सीता शर्मा,निलकण्ठ भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
