

मोहन पौडेल
परासी, ३० जेठ । पश्चिम नवलपरासीको परासीमा सम्पन्न पाँचौ बेयरफुट जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा बेयरफुट तेक्वान्दो एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियन बन्न सफल भएको छ ।
बेयरफुट मार्सल आट्र्स एकेडेमी परासीको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा जिल्लाभित्रका ६ वटा टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलहरूबीच बेयरफुट तेक्वान्दो एकेडेमीले १४ स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।
त्यसैगरी, डैनहवा तेक्वान्दो डोजाङले ७ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने फ्लाइङ फिट तेक्वान्दो डोजाङले ५ स्वर्ण पदक जित्दै तेस्रो स्थान सुरक्षित गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए। विजेता टिमहरूलाई ट्रफी प्रदान गरिएको थियो भने सहभागी तथा उत्कृष्ट खेलाडीहरूलाई पदक र प्रमाणपत्र वितरण गरिएको आयोजक बेयरफुट मार्सल आट्र्स एकेडेमीका अध्यक्ष मनिष गुप्ताले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार यस्ता प्रतियोगिताले बालबालिका तथा युवाहरूमा खेलप्रति रुचि बढाउनुका साथै अनुशासन, आत्मविश्वास र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा प्रमुख गुप्ताले सहभागी टिम, प्रशिक्षक, अभिभावक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि परिवर्तन फाउण्डेसन सुधार केन्द्रका सञ्चालक रञ्जित चौधरीले तेक्वान्दो खेलको विकास र नयाँ प्रतिभाको पहिचानका लागि प्रतियोगिताले टेवा पुग्ने बताउँदै आगामी वर्षहरूमा पनि प्रतियोगितालाई अझ व्यापक रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
