२०८३ बैशाख ६, आईतबार
24 खबर अपडेट

ब्यवसायीको बिजोग र आशाको किरण : ‘नेपाली मान्छे’ क्षत्री कृष्ण

२०८३ बैशाख ६, आईतबार प्रकाशित ( घण्टा अघि) १०५ पाठक संख्या

‘नेपाली मान्छे’ क्षत्री कृष्ण

सुनवल- १२ भूमही

“म व्यापारी हुँ, तर कहिलेकाहीँ आफैलाई हेर्दा ‘बिजोग’ लाग्छ।”
यो केवल एउटा व्यक्तिको भावना होइन—आज नेपालका धेरै व्यवसायीहरूको साझा पीडा हो। विशेष गरी ढुवानी तथा यात्रुवाहक सवारी साधनसँग सम्बन्धित व्यवसाय झन् बढी धरासायी बन्दै गएको देखिन्छ। यसको पछाडि केही स्पष्ट कारणहरू छन्।
पहिलो, सडकको दुरवस्था—जहाँ जोखिम बढी, मर्मत खर्च महँगो र समय अनिश्चित हुन्छ। दोस्रो, भाडादर—जसले लागत पनि धान्न मुस्किल हुन्छ। तेस्रो, बीमा प्रक्रिया—झन्झटिलो र समय खपत हुने। चौथो, कर र ट्राफिक व्यवस्थापन—जहाँ सेवा भन्दा दबाब बढी महसुस हुन्छ। पाँचौँ, इन्धन मूल्य वृद्धि हुँदा तत्काल भाडा समायोजन नहुनु। छैटौँ, सवारी साधनका पार्टपुर्जामा अत्यधिक महँगी। र सातौँ, बैंकिङ प्रणाली—जहाँ ब्याजदर बर्खाको खहरे खोलाझैँ अस्थिर छ।
यी त भए संरचनागत समस्या। अर्को पाटो पनि उस्तै जटिल छ—यात्रुहरू सेवा अनुसार भाडा तिर्न आनाकानी गर्छन्, कर्मचारीमा दक्षता र इमान्दारिता दुवैको कमी देखिन्छ, र उनीहरूको भविष्य सुरक्षाप्रति जिम्मेवारी प्रायः शून्य छ। परिणामतः यो व्यवसाय दिनानुदिन कमजोर बन्दै गएको छ।
देशको मेरुदण्ड नै प्रमुख यातायात हो। तर यही ब्यवसायमा लागेकाहरु मेरो देशमा टिक्नै सकेका छैनन् कतिका त घरखेत भैइसके कतिले आत्मादाह गरिसके । परिवारमा दिनहुँ कलह छ। समाज बिग्रदो अबस्थामा छ। असुरक्षित लगानीले गर्दा यस ब्यवसायमा लागेका ८० देखि ९० प्रतिशत ब्यवसायी पलायन या बिजोगको अवस्थामा छ्न।
कुरा यत्तिमै सकिन्न। म विगत १६ वर्ष देखि विभिन्न ब्यवसायमा छु । ती मध्य यातायात ब्यवसाय मेरोमा पर्दैन । तैपनि म पनि त्यही बिजोग अवस्थाको शिकार छु,भन्नाले यातायात मात्र होइन—फर्निचर, पुस्तक पसल, खेलकुद सामग्री, होटल तथा रेस्टुरेन्ट, इलेक्ट्रोनिक्स—अधिकांश क्षेत्रमा उस्तै समस्या देखिन्छ। लगानी अनुसार प्रतिफल छैन। कतिपय अवस्थामा त ७० हजारको सामानमा १ हजार नाफा निकाल्न पनि संघर्ष गर्नुपर्छ। तीन तहको सरकारको कर प्रणाली छ, तर सुविधा भने शून्यजस्तै। सानो काम गर्न पनि झन्झटिलो प्रक्रिया, जसले व्यवसायीलाई द्रुत (र कहिलेकाहीँ गलत) बाटो रोज्न बाध्य बनाउँछ।
आजको अवस्था त झन् चिन्ताजनक छ। कोरोना कालभन्दा पनि बढी कठिन परिस्थितिको सामना व्यवसायीहरूले गरिरहेका छन्। अस्वाभाविक मूल्यवृद्धि र अस्वस्थ प्रतिस्पर्धाले टिक्न सक्ने वातावरण कमजोर बनाएको छ। दुर्भाग्यवश, कतिपय अवस्थामा नियम तोड्ने, पहुँच र चाप्लुसी गर्नेहरू नै सहजै अघि बढेको देखिन्छ, जसले इमान्दार व्यवसायीलाई अझ निराश बनाउँछ।
यसको असर केवल व्यवसायमा सीमित छैन—समाजसम्म फैलिएको छ। रोजगारीको अभावले लाखौँ युवा विदेशिन बाध्य छन्। परिवार टुटिरहेका छन्। कमाइको ठूलो हिस्सा महँगो शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको छ। कृषि क्षेत्र पनि उस्तै समस्याग्रस्त छ—मल, बीउ, सिँचाइको अभाव र बजारको अस्थिरता। आफ्नै देशमा उत्पादन गरिएको वस्तुले मूल्य नपाउने, तर आयातित वस्तुले बजार ओगट्ने विडम्बना छ।
नेपाली नहरमा बर्खा बाहेक कहिल्यै पानी देखिदैन। भारतमा किसान मैत्री सरकार छ। मल बीउ पल बजार सबै सरकारको प्रत्यक्ष निगरानी र सहयोगमा छ तर हामी कहाँ सरकार भन्नाले को?? त्यही प्रहरी त्यही भन्सार कर्मचारी त्यही सरकारी नुन खाएर आफ्ना गोजी भर्नेबाहेक यहाँ सरकार छैन ।
प्रश्न उठ्छ—सरकार कहाँ छ?
सरकार छ, तर नागरिकले खोजेको सेवा, सहजता र भरोसा पर्याप्त छैन। कानुन जरिवानाका लागि कडा देखिन्छ, तर व्यवसाय प्रवद्र्धनका लागि कमजोर। यद्यपि, हालको परिवेशमा केही आशाका किरणहरू देखिन थालेका छन्। यदि नीति निर्माण र कार्यान्वयनमा इमान्दार प्रयास भयो भने, सुधार सम्भव छ।
देश बन्नु भनेको केवल पूर्वाधार बनाउनु होइन—व्यवसायी, किसान, श्रमिक र युवा सबैलाई सुरक्षित र सम्मानजनक वातावरण दिनु हो। दक्षताको आधारमा अवसर दिने, प्रक्रियालाई सरल बनाउने, र इमान्दार प्रयासलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ। विभिन्न कोटा प्रणाली खारेजी होस् । सरकारले जात धर्म लिङ्ग भन्दा नि दक्षताको आधारमा वर्गीकरण गरोस् ।
अन्ततः, देश बनाउने जिम्मेवारी सरकार मात्र होइन—हामी सबैको हो। राम्रो कामको समर्थन र गलत कदमको विरोध गर्दै अघि बढ्न सके, परिवर्तन सम्भव छ। आशा छ—नथाक्ने, नझुक्ने र निरन्तर प्रयास गर्ने इच्छाशक्तिले एक दिन यो “बिजोग” अवस्थालाई अवसरमा बदल्नेछ। जय देश।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस