२०८३ बैशाख २५, शुक्रबार
24 खबर अपडेट

हकुईमा बजार अनुगमन : व्यावसायिक अनुशासन सुधारोन्मुख

२०८२ अषाढ २३, सोमबार प्रकाशित (0 महिना अघि) ३८७ पाठक संख्या

मोहन पौडेल
परासी,२३ असार । पश्चिम नवलरासीको रामग्राम–१६ हकुई क्षेत्रका व्यवसायीले व्यावसायिक अनुशासन पालना गर्न थालेको पाइएको छ । निरन्तरको बजार अनुगमनपछि व्यवसायीहरुले आचारसंहिता पालना गर्न थालेका हुन् ।
जिल्ला बजार अनुगमन समितिले आइतबार हकुई क्षेत्रमा गरेको बजार अनुगमनको क्रममा विगतको तुलनामा धेरै सुधार देखिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको नेतृत्वमा अनुगमन गरिएको हो ।
सो क्षेत्रका व्यवसायीले सम्बन्धित निकायमा दर्ता गरेर व्यवसाय सञ्चालन गरेको,मूल्यसूची,साइनबोर्ड राख्ने, म्याद गुज्रेका, लेबल नभएका तथा अखाद्य पदार्थको विक्रीप्रति सचेत जस्ता आचारसंहिता सुधारोन्मुख देखिएको पौडेलले बताउनुभयो । विगतमा गरिएका बजार अनुगमनको क्रममा व्यावसायिक आचारसंहिता पालना नगर्ने व्यवसायीलाई चेतावनी दिनुको साथै केही व्यवसायीलाई जरिवाना पनि गरिएको थियो ।
बजार अनुगमन र सचेतनासँगै व्यवसायीले सुधार गर्दै गएको देखिएको तर उपभोक्ता पनि सचेत भएमा व्यावसायिक अनुशासनमा थप सुधार हुने सहायक प्रजिअ भण्डारीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,उपभोक्ता हित संरक्षण मञ्च,पत्रकार लगायतका प्रतिनिधिको सहभागितामा सो क्षेत्रका खाद्यन्न, होटल तथा मिष्ठान भण्डार,फेन्सी,इलेक्ट्रोनिक लगायत गरी १० वटा पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो । अनुगमन टोलीले सेता अण्डा र बोत्तलमा पेट्रोल विक्री वितरण गर्ने कार्य भने तत्काल रोक्न चेतावनी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस