परासी, २९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारीले पश्चिम नवलपरासीको पूर्वाधार विकासमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका भण्डारीले आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटमा नवलपरासी जिल्लाका महत्वपूर्ण पूर्वाधारको विकासका लागि बजेट सुनिश्चित गर्न ध्यानाकर्षण गराउनुभएको हो ।
मूल भन्सारको रुपमा स्तरोन्नति भएर पनि पूर्वाधारको अभावका कारण कार्यान्वयन हुन नसकेको महेशपुर भन्सारलाई मूख्य नाकाको रुपमा पूर्ण सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि बजेट विनियोजन गर्न महासंघका केन्द्रीय सदस्य भण्डारीले माग गर्नुभयो ।
यस्तै महेशपुर–परासी–सुनवल सडक खण्डको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न उहाँले माग गर्नुभयो । महेशपुर भन्सार पूर्ण रुपमा सञ्चालनमा आउन यो सडक खण्डको पनि स्तरोन्नति हुनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले केही काम शुरुवात भएपनि आगामी आर्थिक वर्षमा पूर्णता पाउने गरी बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उत्तर दक्षिण लिंकेज बढाउन पनि यो सडक खण्डको स्तरोन्नति हुनुपर्ने उहाँको विशेष जोड थियो ।
परासीेदेखि त्रिवेणीसम्मको निर्माणाधिन हुलाकी सडकको काम सुस्त गतिमा रहेकोले यसको गति बढाउन र आवश्यक बजेटको व्यवस्थापन गरिदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएको भण्डारीले बताउनुभयो ।
अर्थमन्त्री पौडेलले नवलपरासी जिल्लाको विकासमा कोषढुंगा सावित हुने यी सबै क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सोही क्रममा केन्द्रीय सदस्य भण्डारीले वर्तमान आर्थिक शिथिलताको अवस्थालाई चलायमान बनाउन र व्यवसायिक तथा औद्योगिक वातावरण सुरक्षित गर्न व्यवसायिक मैत्री बजेट तथा नीति कार्यक्रम ल्याउन आग्रह गर्नुभएको भेटमा सहभागि नवलपरासी उद्योग वाणिज्य संघका कोषाध्यक्ष भोला पराजुलीले जानकारी दिनुभयो । अर्थतन्त्र चलायमान बनाउनका लागि निजी क्षेत्र सहयोग गर्न तयार रहेको र सरकारले पनि निजी क्षेत्रसँग हातेमालो गरी अघि बढ्नुपर्ने कुरामा भण्डारीले जोड दिनुभएको थियो ।
C1