परासी, २२ चैत । रामग्राम नगरपालिकास्थित औद्योगिक क्षेत्रका उद्योगीहरुले पानी निकासको पहल गरिदिन जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएका छन् । पोखरापालीदेखि पण्डितपुर जोड्ने निर्माणाधिन सडकका कारण डुबानको समस्या थपिएको उनीहरुको भनाई छ ।
खेतभन्दा सडक र नाला उचो हुँदा डुबानको समस्या आउने भन्दै उद्योगीहरुले वर्षाअघि नै खेतको पानी निकासका लागि उचित व्यवस्थापन हुनुपर्ने माग गरेका हुन् । उद्योगीहरुको तर्फबाट नवलपरासी उद्योग वाणिज्य संघले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)लाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गरिदिन माग गरेको हो ।
सडक विस्तार कार्यको विरोध नभइ पानी निकासको व्यवस्थापन गरिदिन उद्योगीहरुले माग गरेको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो । पोखरापालीदेखि पण्डितपुर जोड्ने सडक क्षेत्र आसपान करिब २५ वटा बहुराष्ट्रिय कम्पनीहरु रहेका छन् । हाल निर्माण भइरहेको सडकका कारण वर्षायामको पानीले स्थानीय वस्ती र कृषियोग्य भूमि डुबानको खतरा बढेकोले बालीनालीको क्षति एवं यस क्षेत्रमा रहेका उद्योगहरु समेत डुबानको खतरामा परेकोले उचित निकास निकाल्न आवश्यक देखिएको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै जिसस प्रमुख यादवले यस विषयमा सरोकारपक्षहरुसँग आवश्यक छलफल गरी निकास निकाल्न पहल गर्ने बताउनुभएको छ । रामग्राम नगरपालिका मार्फत विश्व बैंकको लगानीमा झण्डै ४२ करोडको लागतमा पोखरापलीदेखि घिनाहासम्मको करिब ६ किलोमिटर सडक स्तरोन्नती भइरहेको छ ।
C1