

परासी,२२ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१८ स्थित प्राचीन बुद्धकालिन स्थल पण्डितपुर क्षेत्रमा भईरहेको उत्खनन कार्यमा नवलपरासी उद्योग वाणिज्य संघले चासो देखाएको छ ।
त्यहाँ पुरातत्व विभागको टोलीले विगत एक हप्तादेखि उत्खनन् गरिरहेको छ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, उद्योग उपाध्यक्ष गिरीराज पाण्डेय, वाणिज्य उपाध्यक्ष राजेश गुप्तसहितको टोलीले विहीबार उत्खनन कार्यको स्थलगत अवलोकन गरेको हो ।
भगवान् गौतम बुद्धको मावली प्रमाणीत हुने सम्भाव्य क्षेत्रको रुपमा रहेको पण्डितपुरको विकासका लागि उद्योग वाणिज्य संघले निरन्तर आवाज उठाउँदै आएको बताउँदै संघका अध्यक्ष अग्रहरीले यस क्षेत्रको अध्ययन अनुसन्धानलाई सरकारले चासोका साथ काम अघि बढाउनुपर्ने माग गर्नुभयो । हाल भईरहेको उत्खनन तथा यस क्षेत्रको विकासमा संघले आवश्यक सहजीकरण गर्न तयार रहेको पनि अध्यक्ष अग्रहरीले बताउनुभयो ।
संघको टोलीलाई पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले उत्खननमा भईरहेका प्रगतिको विषयमा जानकारी गराउनुभएको थियो । पुरातत्वविद ज्ञवालीले गत वर्ष गरिएको भू–भौतिक सर्वेक्षणबाट प्राप्त पुरातात्विक संरचनाहरुको पुष्टि गर्न अहिले दोस्रो चरणको उत्खनन् थालिएको जानकारी गराउनुभएको थियो ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा रामग्राम नगरपालिकाको समन्वयमा अहिले भईरहेको उत्खनन् कार्य करिब एक महिना चल्ने ज्ञवालीले बताउनुभयो । जियो फिजिक्स सर्भेले यस क्षेत्रमा बुद्धकालीन प्राचीन शहर रहेको फेला परेको थियो ।
