२०८३ बैशाख २५, शुक्रबार
24 खबर अपडेट

भीमटाँडी–सरावल पालिका पहुँचमार्ग निर्माण अघि नबढे आन्दोलनमा जाने गाउँपालिकाको चेतावनी

२०८१ चैत्र २२, शुक्रबार प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

मोहन पौडेल
परासी, २२ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिका स्थित भिमटाँडीदेखि गाउँपालिकाको केन्द्र जोड्ने पालिका पहुँचमार्ग निर्माणमा भईरहेको ढिलाइप्रति गाउँपालिका र स्थानीयवासी असन्तुष्ट बनेका छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माणाधिन सडक चार वर्षसम्म पनि नबनेपछि गाउँपालिकाले आन्दोलनमा जाने चेतावनी दिएको छ।
हुलाकी राजमार्गको भिमटाँडीदेखि गाउँपालिका कार्यालयसम्मको २२ सय मिटर सडक स्तरोन्नती कार्य निर्माण कम्पनीको चरम लापरवाहीका कारण ढिलाइ हुँदै आएको छ । वि.स.२०७८ वैशाख १२ गते सम्झौता भई सोही वर्षको चैत मसान्त भित्र निर्माण सम्पन्न हुनुपर्नेमा अहिलेसम्म सडक नबन्दा स्थानीयवासीले गाउँपालिकासँग असन्तुष्टि पोख्ने गरेका छन् । पटकपटक पहल गर्दा पनि लामो समयदेखि सडक निर्माणले गति लिन नसक्दा जनता आक्रोसित हुनुका साथै गाउँपालिकाकै महत्वपूर्ण विकासमा अवरोध पुगेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताउनुहुन्छ ।
सडक निर्माण कार्य छिटो सम्पन्न गर्न आफू निर्वाचित भएर आएदेखि नै ठेकेदार कम्पनी तथा प्रदेश सरकारसँग पटकपटक पहल गर्दै आएको उहाँको भनाई छ । अटेरी गरी समयमा सडक निर्माण नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न माग गर्दै अध्यक्ष चौधरीले चालु आर्थिक वर्षको अन्त्य सम्म पनि निर्माण सम्पन्न नभए गाउँपालिका आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ ।

2

सडक निर्माणको जिम्मा पाएको महेश–नवीन जेभी कन्ट्रक्सन बर्दघाट नवलपरासीले आर्थिक अभावको कारण देखाउँदै सडक निर्माणको कार्य अलपत्र पारेपछि स्थानीयदेखि यात्रुसम्मले सास्ती भोग्न बाध्य छन् । नाला,कल्भट लगायत ६० प्रतिशत काम सम्पन्न भइसकेको उक्त सडकमा बेस निर्माण गरी डिविस्टिक अर्थात कालोपत्रे गर्न बाँकी छ । तर ठेकेदार कम्पनीले बेस निर्माणका लागि सडकमा थु्रपाएर राखेको मिस्कट लामो समय देखि अलपत्र राख्दा सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ भने स्थानीयवासी धुलो र हिलोका कारण हैरान छन् ।
पालिका पहुँच मार्ग निर्माणका लागि तीन करोड ७८ लाख २ हजार २३० रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म निर्माण कम्पनीले एक करोड ६३ लाख ५५ हजार १९६ रुपैयाँ भुक्तानी पाईसकेको छ भने यस आर्थिक वर्षमा पनि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर कामले गति लिन नसकेपछि ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दै आएको सडक पूर्वाधार विकास कार्यालय परासीले जनाएको छ ।
चालु आर्थिक वर्षको वैशाख भित्र काम सम्पन्न नगरे ठेक्का तोडेर कारवाही प्रक्रिया अघि बढाउने गरि निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिएको कार्यालयका प्राविधिक अधिकृत सन्तोष कुमार चौधरीले जानकारी दिनुभयो । कार्यालयको ताकेतापछि निर्माण कम्पनी महेश नवीन जेभीले पत्र पठाएर यही चैत २३ देखि काम शुरु गरि वैशाख मसान्त भित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि पनि पटकपटक म्याद थप र ठेकेदार पक्षले प्रतिबद्धता जनाएपनि काम अघि नबढेकोले फेरि पनि तोकिएको समयमा काम हुनेमा भने स्थानीय आशावादी देखिएका छैनन् । प्रदेश सरकारले यसका लागि कठोर कदम चाल्नुपर्ने नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार बताउनुहुन्छ ।

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस