मोहन पौडेल
परासी, १० फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पूँजी बजार सम्बन्धी ज्ञान तथा सचेतना अभिवृद्धिका लागि लगानीकर्ता तथा सरोकारवालाहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । धितोपत्र बजारमा लगानी तथा जोखिम सम्बन्धी जनचेतना अभिवृद्धि गर्न उक्त प्रशिक्षण गरिएको हो ।
नवलपरासी उद्योग वाणिज्य संघको सहकार्यमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धिका लागि प्रशिक्षण तथा अन्र्तक्रिया गरेको हो ।
पूँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले उक्त प्रशिक्षण आयोजना गरिएको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागिता बढ्दो क्रममा रहेकोले यस सम्बन्धी सचेतना कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले लगानीकर्ताहरुलाई धितोपत्र बजारमा लगानी तथा जोखिम व्यवस्थापनको विषयमा प्रशिक्षण दिनुभएको थियो । नेपालको वित्तीय प्रणाली, धितोपत्र बजारको महत्व तथा बजार संयन्त्र,धितोबजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुरा,लगानी गर्दा हुने फाईदा,स्मार्ट लगानीकर्ताका लागि जान्नुपर्ने कुरा लगायतका विषयमा सहजीकरण गरिएको हो ।
धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको सन्दर्भमा धितोपत्र बजारलाई विश्वसनीय बनाउन लगानीकर्तालाई शिक्षा तथा सचेतना प्रदान गर्न बोर्डले अहिले लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा साक्षरता कार्यक्रम सञ्चालन गरेको कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले धितोपत्र,शेयर बजार तथा वस्तु विनिमय बजारको विषयमा नियमनकारी निकायले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउँदै वित्तीय साक्षरता कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले आर्थिक समृद्धिको महत्वपूर्ण माध्यमको रुपमा रहेको पूँजी बजार सम्बन्धी सचेतना कार्यक्रम जिल्लास्तरमा आउनु स्वागतयोग्य रहेको बताउँदै सुरक्षित लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो ।
Pal1