परासी, २७ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ अत्रहटी स्थित शिवमन्दिरमा विभिन्न कार्यक्रमका साथ ५१ औँ महाशिवरात्री मेला महोत्सव सञ्चालन हुने भएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि तीन दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमसहित महाशिवरात्री उत्सव मनाउन लागिएको जनाईएको छ ।
महाशिवरात्रि मेला ब्यवस्थापन समिति सरावल २ अत्रहटीको आयोजनामा शिवमन्दिर परिसरमा मेला सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष देवानन्द चौधरीले जानकारी दिनुभयो । मन्दिरको प्रचारप्रसारसँगै यस क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेका जातीय भेषभुषा, कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले तीन दिन मेला सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो ।
महाशिवरात्री मेलालाई सभ्य र भव्य बनाउन बिभिन्न समिति, उप–समितिहरु गठन गरी तयारीलाई अगाडि बढाईएको तथा उल्लेख्य मात्रामा स्वंयमसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित गरिने समितिका सचिव दामोदर देवकोटाले जानकारी दिनुभयो ।
पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको यो मन्दिर प्रचार–प्रसार अभावमा ओझेलमा छ । मन्दिरमा वर्षेनी भव्य महाशिवरात्री मेला लाग्ने गरेपनि यसको पुरातात्विक महत्व र ऐतिहासिकता प्रचारप्रसार नभएकोमा भने स्थानीयवासी चिन्तित छन् ।
यसवर्ष महाशिवरात्री पर्वको दिन फागुन १४ गते बुधबार रातभर शिवमन्दिरमा धुनी जगाई स्थानीयवासीले जाग्राम बसी शिवको आरधाना गर्ने मेला आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष भक्तजनहरुको उल्लेख्य घुंईचो लाग्ने यो मेलामा यसवर्ष पनि भलिबल प्रतियोगिता तथा चर्चित कलाकारहरु सहितको सांकृतिक कार्यक्रमको आयोजना गर्न लागिएको देवकोटाले जानकारी दिनुभयो ।
मेलामा नवलपरासी, रुपन्देही लगायत छिमेकी राष्ट्र भारतको सिमावर्ती जिल्लाहरुबाट पनि भक्तजनहरु अवलोकन गर्न आउने गरेको सचिव देवकोटाले बताउनुभयो । महाशिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिव उत्पति भएको अवसरमा मनाईने हिन्दुहरुको प्रमुख पर्वको रुपमा पर्दछ । भगवान शिवको उत्पति कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्व मनाईने पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास बसी ऊँ नमः शिवाय् मंत्र जप्ने गरेमा सद्बुद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
Pal1