मोहन पौडेल
परासी, १३ माघ । पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि पश्चिम नवलपरासीका सोह्र हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । यो अभियान यही माघ २२ देखि एक हप्तासम्म जिल्लाका सातै पालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका सातै स्थानीय तहका २०० विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ६६९ र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका करिब ६२४ गरी १६ हजार २९३ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने कार्यक्रम तय गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमै र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाईने छ । जिल्लामा रहेका २०० विद्यालयमा २०१ खोप केन्द्र मार्फत किशोरीहरुलाई खोप लगाईने छ भने त्यसका लागि २०५ जना खोप स्वास्थ्य कार्यकर्ता र ३०८ जना स्वयम्सेवक परिचालन गरिने प्रमुख ढकालले बताउनुभयो ।
विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन्। त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको चिकित्सक बताउँछन् । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कमार्फत सर्ने गरेकाले यो अभियान किशोरीहरुलाई लक्षित गरिएको बताईएको छ ।
आज जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराईएको हो । माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एचपिभीे खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी,सम्बन्धित विद्यालयका प्रधानाध्यापक,स्वास्थ्य स्वयम्सेविका र जिल्ला,पालिका तथा वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखकीरण गरिएको कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
देशभर एचपिभी खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सरकारले देशभरी एकै साथ सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानमा अन्य जिल्लामा ९० प्रतिशत लक्ष्य हासिल गर्ने योजना बनाएपनि नवलपरासीमा सतप्रतिशत पु¥याउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान छ । हरेक वर्ष एक हजार ३१३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरी, पत्रकार महासंघका अध्यक्ष केशव पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
Pal1