२०८१ चैत्र ६, बिहिबार
24 खबर अपडेट

कांग्रेस–एमाले गठबन्धन सरकारले जनतामा आशा जगाउनुपर्छ : डा.रिजाल

२०८१ माघ १२, शनिबार प्रकाशित ( महिना अघि) २६२ पाठक संख्या

परासी, १२ माघ । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनतामा आशा जगाउने काम गर्नुपर्ने बताउनुभएको छ । ६ महिना वितिसक्दा सरकारबाट अहिलेसम्म सन्तुष्ट हुने गरी काम भने नभएको उहाँले स्वीकार गर्नुभयो ।
पश्चिम नवलपरासीको भूमहीस्थित जेसीआई रामनगरको ११ औँ पदस्थापन समारोहलाई शनिबार सम्बोधन गर्दै नेता रिजालले जनतामा रहेको निराशालाई आशामा परिवर्तन गर्नुपर्ने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यत्रो ठूलो निराशाका बीचमा हामीले नागरिक संवाद हरेक तहमा स्थापित गर्न सकेनौँ भने असाध्यै ठूलो भुमरीमा मुलुक जाने जोखिम छ, यो सरकार त्यो जोखिमबाट मुलुकलाई जोगाउन बनेको हो तर हामीले यो ६ महिनासम्ममा यो विश्वास दिलाउन सकेका छैनौँ ।”
विधिको शासन स्थापित गर्न दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपरेको उहाँको भनाई थियो । दलहरु सत्ता जोगाउने र भत्काउने खेलमा भन्दा नागरिक संवाद मार्फत नागरिकका निराशालाई आशामा बदल्ने काममा लाग्नुपर्ने उहाँको जोड थियो । सरकार सञ्चालनका लागि मात्रै दुई दलबीच सात बुँदे समझदारी नभएको स्पष्ट पार्दै कांग्रेस नेता रिजालले संविधान संशोधन गरी उद्देश्य हासिल गर्न लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा जेसीआई रामनगर वर्ष २०२४ का अध्यक्ष देवु भट्टराईले वर्ष २०२५ का लागि निर्वाचित अध्यक्ष रमेश पराजुलीलाई जेसीज माला पहिराएर पदस्थापन गराउनुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत,नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठ,रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, रामनगर जेसीजका संस्थापक अध्यक्ष डोलराज भण्डारी, पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त जयराम बस्याल,पूर्व अध्यक्ष बलराम चापागाईं,निवर्तमान अध्यक्ष कुस्माखर चापागाईं लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस