२०८१ मंसिर १०, सोमबार
24 खबर अपडेट

नवलपरासीको बासामा माघ १० देखि प्रथम सरावल औद्योगिक व्यापार मेला हुने

२०८१ मंसिर १०, सोमबार प्रकाशित ( घण्टा अघि) ६७ पाठक संख्या

मोहन पौडेल
परासी, १० मंसिर । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सरावललाई चिनाउने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पहिलो पटक कृषि,पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।
सरावलको वडा नं.१ बासाबसहीमा सञ्चालन हुने प्रथम सरावल कृषि,पर्यटन,संस्कृति तथा औद्योगिक व्यापार मेला सरावल उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो । आगामी माघ १० गतेदेखि २१ गतेसम्म मेला सञ्चालन गर्ने गरी तयारीका कामलाई तीव्रता दिईएको सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले जानकारी दिनुभयो ।
“उद्योग वाणिज्य संघ गठन भएको छोटो समयमै यहाँका उद्योगी, व्यवसायी,कृषक लगायतले यहाँका स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनका लागि सरावलमै प्रदर्शनी मेला आयोजना हुनुपर्छ भन्ने चाहना व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो,“स्थानीय प्रतिभाहरुको उजागरका लागि अवसर पनि दिनुपर्छ र समग्र सरावलको चिनारीलाई पनि राष्ट्रियकरण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी पहिलो पटक औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेका हौँ”
गत वैशाखमा मात्रै सरावलमा उद्योग वाणिज्य संघ गठन भएको थियो । नवलपरासी जिल्लामा गाउँपालिका स्तरमा उद्योग वाणिज्य संघ गठन भएको यो नै पहिलो हो । सरावल भित्र रहेका पूरातात्विक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार, कृषि,संस्कृति तथा स्थानीय उद्यम व्यवसायको प्रवद्र्धनमा मेलाले विशेष सहयोग पुग्ने अपेक्षा गरिएको संघका अध्यक्ष घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो, सरावल कृषि, शैक्षिक, धार्मिक,पर्यटन र सांस्कृतिक सम्भावना बोकेको क्षेत्र हो, यसको सम्बद्र्धन र प्रवद्र्धनमा मेला महोत्सवको उल्लेख्यनीय भूमिका रहनेछ,समग्र आर्थिक क्षेत्रलाई उकास्न र चलायमान गर्न सरावलमा पहिलो पटक औद्योगिक व्यापार मेला आयोजन गर्न लागिएको हो ।
सुस्ताएको अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन र लगानीमा आकर्षित गर्न, कृषिको आधुनिकीकरणमा टेवा पुर्याउन, पर्यटन प्रवद्र्धन, उत्पादीत वस्तुको बजारीकरण गर्न मेलाले पुलको काम गर्ने आयोजकको दाबी छ । मेलाबाट हुने आम्दानीको ५ प्रतिशत रकम पालिका भित्रकै सामाजिक कार्यमा लगानी लगाइने र बचेको रकम उद्योगी व्यवसायीको हितमा खर्च गरिने अध्यक्ष घिमिरेले उल्लेख गर्नुभयो ।

2

मेलामा झण्डै एक लाख दर्शकले अवलोकन गर्ने र रु ६ करोडको हाराहारीमा आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले जानकारी दिनुभयो । मेला सञ्चालनको लागि करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । मेला प्रवेशका लागि टिकटदर रु ८० कायम गरिएको छ भने विद्यार्थीलाई रु ५०, ज्येष्ठ नागरिक तथा असहाय अपांगता भएका व्यक्तिलाई नागरिकता र परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको साथै भारतबाट पनि चर्चित कलाकारहरुलाई उत्तार्ने तयारी भईरहेको यादवले बताउनुभयो । साथै पालिका भित्रका जातजातीहरुको झाँकी प्रदर्शनी,नवप्रतिभा कलाकारलाई प्रतिभा प्रस्फुटनको अवसर,आमा समूहबीच दोहोरी प्रतियोगिता,ममि डान्स प्रतियोगिता,अन्तर टोल विकास संस्थाबीच खेलकुद प्रतियोगिता,विज्ञान प्रदर्शनी, बाल उद्यान लगायत मेलाका प्रमुख आकर्षणको रुपमा रहने वरिष्ठ उपाध्यक्ष यादवले बताउनुभयो ।
मेलामा हस्तकला,अटोमोबाईल्स्,आधुनिक यन्त्र उपकरण, बहुराष्ट्रिय कम्पनी तथा लघु, घरेलु एवं साना उद्योगका उत्पादन, सवारीसाधन, तयारी पोशाक तथा जुत्ताचप्पल, महिला उद्यमीका उत्पादन, होटल रेष्टुरेष्ट लगायतका गरी एक सय स्टल रहने संघका सचिव एवं स्टल संयोजक देवराज रायले जानकारी दिनुभयो । मेलामा सरावल गाउँपालिका भित्रका उद्यमीहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । आजबाट स्टल बुकिङ्ग पनि खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो ।
मेला संरक्षक सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले सरावलमा प्रथम पटक औद्योगिक व्यापार मेला सञ्चालन हुनु गौरवको विषय भएको बताउँदै गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेलाको माध्यमबाट सरावलको कृषि,पर्यटन, संस्कृति,लघु उद्यमीका उत्पादनको प्रवद्र्धनमा मेलाले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको बताउँदै गाउँपालिका अध्यक्ष चौधरीले पालिका भित्रका सम्भावनालाई उजागर गर्दै सरावलको भाषा,कला र संस्कृति संरक्षणमा सहयोग हुने उल्लेख गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस