२०८३ बैशाख २५, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा सडक पूर्वाधार विकास कार्यालय स्थापना,काबा मुख्यमन्त्री ढकालद्धारा उद्घाटन

२०८१ कार्तिक २६, सोमबार प्रकाशित ( साल अघि) ७०५ पाठक संख्या

मोहन पौडेल
परासी, २६ कात्तिक । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्लामा सडक पूर्वाधार विकास कार्यालय स्थापना भएको छ ।
जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको निर्माणाधिन नयाँ प्रशासनिक भवन रामग्राम–४ मा स्थापना भएको उक्त कार्यालयको आज लुम्बिनी प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उद्घाटन गर्नुभयो ।
मन्त्री ढकालले सडक पूर्वाधार विकास कार्यालयको स्थापनासँगै भविष्यमा नवलपरासी जिल्लाको भौतिक विकासमा कोषे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले आम नागरिकलाई छिटो, छरितो र सहज तरिकाले सेवा प्रवाह गर्ने कुरालाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री ढकालले सुशासन, पारदर्शीता र छिटो सेवा दिने काम नै आफूहरुको प्रमुख काम रहेको बताउनुभयो ।
“यो कार्यालय शुभारम्भ भएसँगै स्वभाविक रुपमा मन्त्रालयबाट गरिने सबै कामहरुमा पारदर्शीता हुनेछ, सेवा छिटो र छरितो हुनेछ, जनतालाई लाभान्वित हुने गरि हामी काम गर्नेछौँ,मन्त्रालयबाट हुने काममा कुनै कमजोरी नहुने गरी कर्मचारीले काम गर्नुहुनेछ”, उहाँले भन्नुभयो ।
मन्त्री ढकालले कार्यालयबाट नागरिकले सेवा नपाएको, ढिलासुस्ती भएको, कार्यान्वयनमा रहेका आयोजना गुणस्तरीय नभएको,सम्बन्धित निकायमा समन्वय नभएको जस्ता गुनासाहरु नआउने गरि कार्य गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।

Ss2

 

यस्तै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलावार (सन्तु)ले सडक पूर्वाधार विकास कार्यालयको स्थापना हुनु जिल्लावासीका लागि गौरवको विषय भएको बताउँदै जिल्लाको विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले प्रदेश सरकार अन्र्तगतका पूर्वाधार आयोजनाका लागि रुपन्देही जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सदस्य बैजनाथ जयसवालले सडक कार्यालयको शुभारम्भ भएपछि नवलपरासी जिल्लाको विकासले गुणात्मक रुपमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सदरमुकाम बाहिर स्थापना गर्ने तयारी गरिएको यो कार्यालयलाई अथक प्रयासपछि सदरमुकाममै स्थापना गर्न सफल भएको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले यस कार्यालयको स्थापनासँगै अब प्रदेश सरकारबाट सञ्चालन हुने पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । भवन अभावको कारण देखाउँदै यो कार्यालय सदरमुकाम बाहिर राख्ने प्रयास भईरहँदा जनताको सहजतालाई मध्यनजर गर्दै सदरमुकाममै कार्यालय स्थापना गर्नका लागि जिल्ला समन्वय समितिको बन्दै गरेको भवन उपलब्ध गराएको उहाँले बताउनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतले कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुशीको कुरा भएको बताउँदै कार्यालय सञ्चालनमा आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यालयमा हाल ईन्जिनियर जितेन्द्र रायमाझीको नेतृत्वमा १३ जना कर्मचारी खटाईएको छ । मन्त्रालयका प्रवक्ता एवं सडक पुल महाशाखा प्रमुख विनोद चौधरीका अनुसार यस कार्यालयमा तीन जना ईन्जिनियर(सातौँ तह), प्रशासन १ जना,सव ईन्जिनियर चार जना तथा ल्याब टेक्निसियन,सवारी चालक र कार्यालय सहयोगी रहने छन् । कार्यालयले प्रदेश सरकारबाट नवलपरासी जिल्लामा विनियोजन गरिएका सडक तथा पुल निर्माण, मर्मत,विभिन्न सडकहरुको आवधिक तथा नियमित मर्मत गरि सेवा प्रदान गर्नेछ ।
यस वर्ष प्रदेश सरकारबाट विनियोजित तथा विगतदेखि नै सञ्चालनमा रहेका गरि ४५ करोड बराबरका ८५ वटा सडक तथा पुल सम्बन्धि पूर्वाधार आयोजनाहरु अब यस कार्यालयले नै कार्यान्वयन गर्ने चौधरीले जानकारी दिनुभयो । यसअघि सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले पश्चिम नवलपरासी जिल्लाको आयोजनाहरु पनि कार्यान्वयन गर्दै आएको थियो । यो सँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सडक पूर्वाधार विकास कार्यालय स्थापना भएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस