मोहन पौडेल
परासी, १२ कात्तिक । पश्चिम नवलपरासीमा चोरीका सामानसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित राधा बगालेको घरमा गत असोज २३ गते चोरिएका सामानसहित उक्त चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४ का ३७ वर्षीय तीलकबहादुर थापा क्षेत्री र ३४ वर्षीय विजय हरिजन तथा बर्दघाट–१ का २१ वर्षीय अरुण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट दुई वटा मोटरसाईकल, दुई थान मोबाईल र नगद रु ८ हजार २०० बरामद गरिएको उहाँले बताउनुभयो । गत असोज २३ गते बाढीपीडितकी राधा बगालेको घरमा कोही नभएको अवस्थामा घरको मूल ढोका च्यानल गेटमा लगाएको ताला फोडी मोवाईल,सुनका गरगहना तथा नगद चोरी भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटले स्थानीय तिलक थापा क्षेत्री र विजय हरिजनलाई नियन्त्रणमा लिई चोरीका सामान बरामद गरेको थियो । पक्राउ परेका दुवै जनाले दुई वटा मोटरसाईकलमा चार जनाको समूह गई चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न बर्दघाटकै सुखौराका ३५ वर्षीय दिलसन क्षेत्री फरार रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । चोरी गरेको सामानहरु चार जनाले बाँडेर लिएका थिए । पक्राउ परेका तीनै जना विरुद्ध चोरी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।