२०८१ मंसिर १८, मंगलबार
24 खबर अपडेट

शुक्रौली स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्ड कार्यक्रमको समिक्षा

२०८१ कार्तिक १२, सोमबार प्रकाशित ( महिना अघि) १५२ पाठक संख्या

परासी, १२ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१६ स्थित शुक्रौली स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्ड कार्यक्रमको अर्धवार्षिक समिक्षा गरिएको छ । स्वास्थ्य चौकीले दिने सेवाहरुलाई थप प्रभावकारी बनाउन र स्वास्थ्य संस्थाको प्रणालीमा सुधार ल्याउने उद्देश्यले निर्माण गरिएको प्राप्तांक बोर्ड कार्ययोजनाको अर्धवार्षिक समिक्षा गरिएको हो ।
शुक्रौली स्वास्थ्य चौकी व्यवस्थापन समितिको आयोजना तथा ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट र फेयर मेड फाउण्डेसनको साझेदारीमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा गरिएको उक्त कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी,महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका,आमा समूह,जनप्रतिनिधि एवं स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज बलराम सापकोटाले ६ महिना अघि स्वास्थ्य प्राप्तांक बोर्डले बनाएको कार्ययोजनाको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । कार्ययोजना अनुसार भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण ल्याव सेवा सञ्चालन गर्न नसकिएको तर अन्य सवै योजना कार्यान्वयन गरि गुणस्तरीय स्वास्थ्य सेवा दिईएको उहाँले बताउनुभयो ।
स्वास्थ्य संस्थाले दिने विभिन्न सेवाहरुको सूचकहरु राखेर समुदाय स्तरबाट स्वास्थ्य संस्थाको सेवाको वर्तमान अवस्था र आगामी लक्ष्यको लागि अंकभार गरि निर्माण गरिने बोर्ड नै सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्ड हो । यो बोर्डले स्वास्थ्य संस्था के कस्तो अवस्थामा छ भन्ने एकिन गर्दछ ।
जसअनुसार गत फागुनमा निर्माण गरिएको शुक्रौली स्वास्थ्य चौकीको सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्डको कार्ययोजनामा उल्लेख्य प्रगति देखिएको ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यबाहक कार्यकारी निर्देशक पुष्पराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कार्ययोजना अनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा तथा सुनिश्चिततामा शत प्रतिशत नतिजा हासिल भएको छ भने भौतिक संरचनाको लक्ष्य तर्फ प्रयोगशाला सञ्चालन बाहेक अन्य सबै पूरा भएको छ ।
स्वास्थ्य आमा समूह तथा सामुदायिक महिला स्वास्थ्य स्वयमसेविको परिचालनतर्फ पनि ९० अंकभार रहेकोमा ९५ अंकभार प्राप्त गर्न सफल भएको छ भने स्वास्थ्य सुशासन तथा व्यवस्थापन समितितर्फ पनि ९० अंकभार रहेकोमा ९५ अंकभार प्राप्त गर्न सफल भएको छ । कुष्ठरोग निवारण कार्यक्रम अन्तरगत ७० अंकभार रहेकोमा छाला शिविर बाहेकका सबै योजना पूरा गरिएको छ । औजार उपकरण तथा निःशुल्क औषधीतर्फ ६० अंकभार रहेकोमा प्रयोगशाला बाहेक सबै योजना सम्पन्न भएका छन् । समग्रमा शुक्रौली स्वास्थ्य चौकीबाट प्रवाह गरिने सेवाहरु प्रभावकारी देखिएको मञ्चका कार्यकारी निर्देशक आचार्यले बताउनुभयो ।
आगामी कार्ययोजना समेत निर्माण गर्दै प्रयोगशाला सञ्चालनका लागि पहल गर्ने,छाला शिविर आयोजना गर्ने एवं सामाजिक परिक्षण गर्ने लगायतका योजना बनाईएको छ। रामग्राम १६ का वडा सदस्य दीपक चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिका स्वास्थ्य शाखाका अनिल खड्का, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु गिरीराज पाण्डेय, घनश्याम यादव, ईन्चार्ज बलराम सापकोटा, ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यबाहक कार्यकारी निर्देशक पुष्पराज आचार्य, दैनिक ट्वान्टिफोर खवर डटकमका प्रबन्ध निर्देशक मोहन पौडेल लगायतले स्वास्थ्य चौकीका सेवाहरुमा थप सुधार र गुणस्तर वृद्धिमा जोड दिनुभएको ईन्द्रेणी सामाजिक विकास मञ्चका सामाजिक परिचालक बसन्त सापकोटाले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस