२०८३ कार्तिक १३, बिहिबार
24 खबर अपडेट

राष्ट्रसेवक साकोसद्धारा रेडक्रस मार्फत विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

२०८१ आश्विन २२, मंगलबार प्रकाशित (२ साल अघि) ६३५ पाठक संख्या

मोहन पौडेल
परासी, २२ असोज । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड(साकोस) रामग्राम–३ नवलपरासीले विपद् प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । बाढी,डुबान लगायतका कारण प्रभावितहरुलाई सहकारीले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी मार्फत राहत सामग्री हस्तान्तरण गरेको हो ।
मंगलबार परासीमा एक कार्यक्रम गरि राष्ट्रसेवक साकोसका अध्यक्ष गणेशप्रसाद घिमिरेले विपद् प्रभावितका लागि रु २५ हजार बराबरको २७ सेट टिसर्ट र हाफप्वाईन्ट रेडक्रसका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीलाई हस्तान्तरण गर्नुभयो ।
विपद्को समयमा सबै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विपद् सामग्री हस्तान्तरण गरेको सहकारीका अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकारीले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राहत सामग्री ग्रहण गर्दै रेडक्रस जिल्ला शाखाका सभापति अग्रहरीले सहकारी मार्फत पहिलो पटक राहत सामग्री प्राप्त भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । केहि दिन अघि आएको बाढीका कारण सरावल गाउँपालिकाको वडा नं.६ र ७ अहिले पनि डुबानबाट प्रभावित रहेको बताउँदै अध्यक्ष अग्रहरीले सही समयमा प्राप्त राहत सामग्री प्रभावितलाई हस्तान्तरण गर्ने बताउनुभयो । विपद् प्रभावितलाई उचित राहत सहयोग गर्न रेडक्रसले मात्र नसक्ने भएकोले सहयोगी हातहरुको साथ आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य एवं विपद् व्यवस्थापन संयोजक अर्जुन बहादुर क्षेत्री र रेडक्रस जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले रेडक्रस मार्फत विपद् प्रभावितलाई भईरहेको सहयोगका बारेमा प्रकाश पार्नुभएको थियो । निजामति कर्मचारी सदस्य रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था २०५९ सालमा स्थापना भएको थियो । सहकारीले हाल रु ५ करोड निक्षेप पुँजी संकलन गर्न सफल रहेको संस्थाका व्यवस्थापक चिन्तामणि भट्टराईले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑