२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रेडक्रस स्थापना दिवसको अवसरमा परासी उपशाखाद्धारा रेडक्रसका संस्थापकलाई सम्मान

२०८१ भाद्र १९, बुधबार प्रकाशित ( हफ्ता अघि) २३३ पाठक संख्या

मोहन पौडेल
परासी, १९ भदौ । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीका संस्थापकलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६२ औँ स्थापना दिवसको अवसरमा आज परासी बुद्धचोकमा आयोजित सम्मान तथा दीप प्रज्ज्वलन कार्यक्रममा रेडक्रस जिल्ला शाखाका संस्थापक जिल्ला उपसभापति डा.कौशलेन्द्र श्रीवास्तव र संस्थापक जिल्ला सदस्य दुधनाथ गुप्तालाई सम्मान गरिएको हो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरीले संस्थापक द्धयलाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो । वि.स.२०३१ सालमा नवलपरासी जिल्लामा नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको थियो । जिल्लामा रेडक्रसका संस्थापक मध्ये जीवित रहेका र उपशाखाको सम्पर्कमा आएका श्रीवास्तव र गुप्तालाई सम्मान गरिएको परासी उपशाखाका सभापति अग्रहरीले जानकारी दिनुभयो । मानवको सेवामा निरन्तर क्रियाशील रहँदै आएको रेडक्रसलाई परासीमा स्थापित गर्ने गरि आफू निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख यादवले मानवीय सेवामा रेडक्रसको योगदान अतुल्नीय रहेको उल्लेख गर्नुभयो । विभिन्न दैवी प्रकोप तथा महामारीको समयमा रेडक्रसले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताउँदै नगर प्रमुख यादवले रेडक्रसलाई अघि बढाउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सम्मानित संस्थापकहरुले आफूहरुको योगदानलाई सम्झेर सम्मान गरेकोमा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखालाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुनबहादुर क्षेत्री, रामग्राम ५ का वडा सदस्य सरोज क्षेत्री, नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवार,उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली लगायतले बोल्दै रेडक्रसको योगदानको चर्चा गर्नुभएको नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाका सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो । उक्त अवसरमा परासी बुद्धचोकमा दीपप्रज्ज्वलन गरि शान्तिको कामना गरिएको परासी उपशाखाका सहसचिव नगेन्द्र गुप्ताले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस