२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासीमा लगानीमैत्री वातावरण कायम राख्न सहजीकरण गर्छाैँ : प्रजिअ श्रेष्ठ

२०८१ जेष्ठ ३०, बुधबार प्रकाशित ( महिना अघि) १७७ पाठक संख्या

परासी, ३० जेठ । पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्लामा लगानीमैत्री वातावरण कायम राख्न सहजीकरण गर्ने बताउनुभएको छ । उहाँले पेशागत मर्यादा र कानूनको दायरामा रहेर व्यवसायिक गतिविध गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघले हालै जिल्लामा आउनुभएकी प्रजिअ श्रेष्ठको स्वागतमा आज परासीमा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उहाँले निजी क्षेत्रको.विकास बिना मुलुक अघि बढ्न नसक्ने धारणा व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीको सुरक्षित वातवारण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
प्रजिअ श्रेष्ठले जिल्लामा हाल चोरी तस्करी धेरै हदसम्म नियन्त्रणको अवस्थामा रहेको दाबी गर्दै तस्करी शुन्यमा र्झान उद्योगी व्यवसायीकै सहयोग आवश्यक रहने उल्लेख गर्नुभयो । उहाँले विकास निर्माणमा सहजीकरण, शान्ति सुव्यवस्था र सुरक्षाको प्रत्याभूतिका लागि निरन्तर समन्वय,सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले पछिल्लो समय जिल्लामा उद्योग स्थापना हुने क्रम बढेसँगै औद्योगिक क्षेत्रको रुपमा विकास भईरहेको बताउँदै औद्योगिक क्षेत्रको शान्ति सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले खुल्ला सीमाका कारण हुने चोरी तस्करी नियन्त्रण, विकास निर्माणमा सहजीकरण, उद्योग कलकारखाना सहज रुपमा सञ्चालनको वातावरण कायम राख्न प्रशासनले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले चोरी तस्करी नियन्त्रण र औद्योगिक वातावरणका लागि प्रशासनको तर्फबाट निजी क्षेत्रले ठूलो अपेक्षा गरेको बताउनुभयो । उहाँले परासीमा करदाता सेवा कार्यालय सञ्चालनपछि करदातालाई सहज भएपनि ठूलो कारोबार गर्ने करदाता अझै पनि भैरहवा जानुपर्ने बाध्यता रहेको बताउँदै परासीमै करदाता सेवा कार्यालयलाई स्तरोन्नती गरि आन्तरिक राजस्व कार्यालयको रुपमा विकास गर्न पहल गरिदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले मेहशपुर भन्सारमा क्वारेन्टाईन लगायतका पूर्वाधार नहुँदा किसान तथा उद्योगी व्यवसायीले सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले पछिल्लो समय करका दर बढाउँदा उद्योग क्षेत्र मारमा परेको बताउँदै उद्योगमैत्री नीति निर्माणमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न उद्योग कलकारखानाका प्रतिनिधिहरु, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको संघकी महासचिव तारा आचार्यले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस