नवलपरासी, १ चैत । पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्स,फिसर,फिस्टुलाको समस्या बढ्दो रुपमा देखिन थालेको छ । पहिले आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट यी रोगहरुको उपचार गरिन्थ्यो तर अचेल आधुनिक लेजर प्रबिधिबाट समेत यसको सफल उपचार र शल्यक्रीया हुन थालेको छ । लेजर प्रबिधी मार्फत गरिने उपचार प्रभाबकारी हुने चिकित्सक बताउँछन ।
चितवन जिल्लामै पहिलो पटक पायल्स,फिसर,फिस्टुलाको उपचारका लागि अत्याधुनिक लेजर प्रबिधी भित्र्याएको सेन्ट्रल हस्पिटल चितवनमा पायल्स,फिसर, फिस्टुलाका बिरामिहरुको संख्या बढ्दै गएको अस्पताल प्रशाशनले बताएको छ ।
“चिरफार गरेर उपचार गर्न डराउने बिरामीहरु लेजर प्रबिधिको जानकारी पछि निर्धक्कले उपचार गर्ने गरेका छन” अस्पतालका बरिस्ठ सर्जन डाक्टर सुर्य ज्योती श्रेष्ठले भने ।
डा.श्रेष्ठका अनुसार सेन्ट्रल अस्पतालबाट लेजर प्रबिधि मार्फत सयौंको संख्यामा बिरामिको सफल उपचार भईसकेको छ ।
लेजर प्रबिधिबाट उपचार गर्दा शारीरिक दुखाई पनि कम हुने र छोटो समयमै बिरामी सामान्य जिवनशैलीमा फर्कने बताउँदै डाक्टर श्रेष्ठले लाजका कारण रोग पालेर राख्दा जटिल अवस्था निम्तिन सक्ने भएकाले समयमै रोगको निदान गर्नुपर्ने बताए । लेजर प्रबिधी मार्फत भेरिकोज भेन (खुट्टा सुन्निने,खुट्टामा रगत जम्ने) रोगको समेत सफल उपचार हुने सेन्ट्रल अस्पताल प्रशाशनले बताएको छ ।
पायल्सको उपचार हुने लेजर प्रविधि के हो ?
लेजर प्रविधि शल्यक्रियाकै एउटै पाटो हो । चिरफार नगरी विशेष प्रकारको विकिरणद्वारा उपचार गरिने प्रविधिलाई लेजर भनिन्छ । पायल्स मात्र हैन यो उपचार विधि मिर्गौलाको शल्यक्रिया र प्रोस्टेट सम्बन्धी शल्यक्रियामा पनि प्रयोग गरिन्छ ।
लेजर एउटा इलेकट्रोनिक उपकरण हो, जसले विद्युतिय माध्यमबाट पराबैजनी किरण निकाली शरीरमा भएका अनावश्यक टिस्युलाई सुकाउने काम गर्छ । मलद्वारसम्बन्धी रोग फिसर फिस्टुलामा पनि यो उपचार विधि प्रयोग हुन्छन् ।
कस्तो अवस्थामा यो विधि प्रयोग हुन्छ ?
मलद्वार बाहिर मासु निस्कन्छ, रगत बग्छ भने त्यो पायल्सको लक्षण हुन सक्छ । यस्तो लक्षण देखिए विशेषज्ञ चिकित्सकको सल्लाहमा पायल्स नै हो भनेर ठम्याउन सकिन्छ । त्यसपछि मात्र कस्तो उपचार विधि अपनाउने भन्ने कुरा तय हुन्छ ।
मलद्वारमा घाउ भएको छ र मलद्वारभित्र मासु पलाएको अवस्थामा लेजर प्रविधिले उपचार सजिलो र छिटो हुन्छ । तर मासु मलद्वारभन्दा बाहिर निस्किएको छ र भित्र ठेल्दा पनि जाँदैन भने उपचार नै गाह्रो हुन्छ ।
कति प्रभावकारी छ ?
उपचार कति प्रभावकारी हुन्छ भन्ने कुरा बिरामीको अवस्था कस्तो छ , उमेर कति छ, मोटोपना छ की छैन, जीवनशैली कस्तो छ र अन्य दीर्घ रोग छ की छैन यी सबै कुराले तय गर्छ । तर, भित्री पायल्समा यो उपचार पद्धति बढी प्रभावकारी हुन्छ ।
यो उपचार विधीमा शल्यक्रिया गर्दा अन्य शल्यक्रियामा जस्तो ठुलो घाउ बनाइँदैन, सानो घाउ बनाइन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक औषधि पनि थोरै चलाए पुग्छ । बिरामी चाँडै निको हुने भएकाले अस्पतालमा भर्ना गरेर धेरै दिन बस्नु पर्दैन । घाउ सानो हुने भएकाले संक्रमण हुने सम्भावना कम हुन्छ । साथै घाउको दाग कम बस्छ यस हिसाबले अन्य उपचार प्रविधिको तुलनामा यो प्रविधि प्रभावकारी नै छ ।
यसमा अपनाउनुपर्ने सावधानी के हो ?
पायल्सको उपचार पछि अपनाउनु पर्ने सावधानी मध्ये सबैभन्दा प्रमुख सावधानी कब्जियत हुन नदिनु हो । कब्जियत हुन नदिन खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।
उपचारपछि यो खाना हुन्न त्यो खान हुन्न भनेर बार्ने चलन छ । तर सामान्य व्यक्तिले खान मिल्ने खानेकुरा बिरामीले पनि खान मिल्छ । दाल, भात, तरकारी, माछा, मासु लगायतका प्राकृतिक खानेकुरा खान मिल्छ ।
मैदाजन्य खानेकुरा, प्याकेट बन्द खानेकुरा, प्रशोधित खानेकुरा र बाहिरको धेरै चिल्लो पिरो खानेकुरा भने बार्नुपर्छ ।