२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

भाजपाविरुद्ध ‘बाजिगर’ बनिन् बंगालकी दिदी : आफू हारेरै पनि हराइन् मोदीलाई

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) ९१० पाठक संख्या

20210503_111856

नवलपरासी ,२० वैशाख । नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता उनकै नाममा सत्तारुढ भारतीय जनता पार्टीले धेरै राज्यहरुमा पकड बलियो बनाउन सफल भयो। भारतीय कांग्रेसको गढ मानिने राज्यहरुमा समेत मोदीको नाम बिक्यो, त्यहाँको सत्तामा भाजपा नै पुग्यो।

भारतलाई कंग्रेस मुक्त बनाउँदै देशभर भाजपाको लालकिल्ला बनाउने मोदीको रफ्तारमामा बाधा बन्यो पश्चिम बंगाल। दिदीको शहर। दिदी अर्थात ममता बनर्जी।

हिजो सार्वजनिक भएको चुनावी परिणाम अनुसार भाजपाले कम्युनिस्टहरुलाई सखाप पार्दै आफ्नो उपस्थिति पहिलेको तुलनामा बलियो बनाए पनि सत्ताको सिंढीमा भने चढ्न असफल रह्यो।

२०१४ को लोकसभा निर्वाचनमा पराजित भएको कंग्रेस २०१९ को निर्वाचनमा पनि नराम्ररी पछारियो। तत्कालीन कांग्रेस अध्यक्ष राहुल गान्धीले पुर्ख्यौली गढ अमेठीबाट पराजय भोग्नु पर्‍यो। त्यसयता भारतीय कंग्रेस सम्हालिन सकेको छैन। मोदीको विरुद्ध राहुललाई विपक्षीको अनुहार बनाइए पनि जनताले त्यसलाई रुचाएनन्। मोदीलाई टक्कर त दिनु नै थियो। कंग्रेस राहुल र सोनिया नेतृत्वमै अल्झिँदा ममता बनर्जीलाई विपक्षको मुख्य अनुहारका रुपमा चित्रण गर्न थालियो।

त्यसैले पनि भारतीय जनता पार्टी र नरेन्द्र मोदीलाई २०२१ को विधानसभामा दिदीको विधानसभा निर्वाचनमा पकड जमाउनु थियो। भारतीय विश्लेषकहरुको कुरा मान्ने हो भने शक्ति हत्याउन मोदीले राज्यका सबै संयन्त्रको प्रयोग गरे। कोरोना भाइरसको महामारी बिच ७ चरणमा पश्चिम बंगालमा निर्वाचन गराउन केन्द्रकै भूमिका रहेको बताइन्छ। जबकि बंगालभन्दा धेरै मतदाता भएको स्थानमा कम चरणमा निर्वाचन सम्पन्न गरिएको थियो।

कोरोना संक्रमण फैलिरहेको अवस्थामा थोरै चरणमा निर्वाचन सम्पन्न गराउन ममता बनर्जीले निर्वाचन आयोगलाई ताकेता गरे पनि सफल भइनन्। अन्तत: एकतिर अस्पतालमा बेड र अक्सिजनको अभावमा तड्पिएको भारत थियो भने अर्कोतिर कोरोना भुलेर निर्वाचनमा झुमेको भारत। जसलाई मोदी सरकारकै मन्त्रीहरुले नेतृत्व गरिरहेका थिए। देशभर संक्रमण उच्च बिन्दुमा रहँदा गृहमन्त्री अमित शाह पश्चिम बंगालमा अड्डा जमाएर बसेका थिए। दिदीलाई हराएर उनी भाजपाको किल्ला बनाउन दिनरात खटिरहे। ममतालाई हराउन सौरभ गांगुलीलाई मैदानमा उतार्ने चर्चा समेत चलेको थियो। तर, ममताविरुद्ध बंगाालमा मिथुन चक्रवर्ती उतार्न मात्रै सीमित रह्यो भाजपा।

निर्वाचन र्‍यालीको क्रममा ममतामाथि आक्रमण समेत भयो। जसलाई तृणमूलले नियोजित षड्यन्त्र भनेको थियो। खुट्टामा चोट लागे पनि घाइते अवस्थामा नै ममता निर्वाचन र्‍यालीमा निस्केकी थिइन्। ह्वीलचेरमा बसेर उनले मोदीलाई हराउने दाबी गरिरहिन् उनले। कुनै एक चुनावी सभामा हातले फुटबल प्रहार गरेको उनको भिडियोलाई एडिटिङ गरेर मोदी लडेको मेम बनाइयो। जुन अहिले खुबै चलिरहेको छ।

नरेन्द्र मोदी आफैँ पनि सुरुवाती चरणमा बंगालमा निर्वाचन र्‍यालीमा सक्रिय भएर लागे। ममतालाई ‘दिदी ओ दिदी…’ भन्दै अबको निर्वाचनमा पराजित गर्ने घोषणा गरेका थिए उनले। तर, आइतवार बिहान जब मतगणना सुरु भयो मोदी र शाहको जोडीको करिश्मा बंगालमा त्यति चलेन जति उनीहरुले लगानी गरेका थिए।

दिदीको पार्टी तृणमूल कंग्रेस निर्वाचनमा विजय त भयो। तर, दिदी भने निर्वाचन क्षेत्रबाट पराजित भइन्। नन्दीग्रामबाट तृणमूल छाडेर भाजपा प्रवेश गरेका शुभेंदु अधिकारीसँग उनी पराजित भइन्। यद्यपि, ममताले उक्त नतिजालाई अदालतमा लैजाने घोषणा गरिसकेकी छिन्।

२०११ बाट पश्चिम बंगालमा तृणमूल कंग्रेसले अब तेस्रोपटक सरकार बनाउँदैछ। २०१६ को निर्वाचनमा २१४ सिट जितेको तृणमूल गठबन्धले यसपटक पनि २१४ सिट नै जितेको छ। कंग्रेसको अवस्था बंगालमा खराब बनेको छ। कंग्रेससहितको गठबन्धले २०१६ मा ७६ सिट जितेको थियो। अहिले भने कंग्रेस गठबन्धन १ सिटमा खुम्चिएको छ। बंगालमा लामो समयसम्म राज गरेको कम्युनिष्ट पार्टीको अवस्था पनि कंग्रेसजस्तै भएको छ। कम्युनिष्ट पार्टीबाट यसपटक निर्वाचनमा सबैभन्दा कम उमेरकी उम्मेदवार बनेकी थिइन् जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनकी अध्यक्ष आइशी घोष। उनी पनि पराजित भइन्।

यसको फाइदा भने भाजपालाई भएको छ। २०१६ को निर्वाचनमा ३ सिट पाएको भाजपा गठबन्धन यसपटक ७६ सिट जितेको छ। यसरी भाजपा धेरै स्थानमा जित्नुको प्रमुख कारण भनेर तृणमूल कंग्रेसबाट भाजपा प्रवेश गर्नेहरुको संख्या। दिदीलाई पराजित गर्न निर्वाचन अघि धेरै संख्यामा तृणमूल कंग्रेसका नेता कार्यकर्ता भाजपा प्रवेश गरेका थिए। यद्यपि, यसले पनि बंगालमा मोदीको साथ पाउने सरकार बन्न सकेन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस