२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

पडरीका आगलागी पीडितलाई राहत र आवास पुनःनिर्माणमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पन्थी

२०८१ बैशाख १५, शनिबार प्रकाशित ( हफ्ता अघि) १४० पाठक संख्या

मोहन पौडेल
परासी, १५ वैशाख । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले पश्चिम नवलपरासीको पाल्हीनन्दन ६ पडरीमा भएको आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री पन्थीले आगलागीका कारण विस्थापित भएका परिवार र पीडितहरुलाई पनि भेटघाट गर्नुभयो ।
मन्त्री पन्थीले आगलागी पीडितलाई उचित राहत र आवास पुनःनिर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकहरुको सुख दुःखमा राज्यसँगै छ, अभिभावकको भूमिका निभाएको छ, कसैलाई पनि खुल्ला आकाशमुनि वस्नु पर्दैन भन्ने कुरा म आश्वस्त गर्न चाहन्छु,तत्कालका लागि हामीले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नेछौँ ।”
विपद् बाजा बजाएर नआउने भन्दै मन्त्री पन्थीले विपद्को समयमा सबैले एक आपसमा मिलेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । आगलागीबाट भएको यकिन क्षतिको विवरण पालिका,प्रशासन हुँदै प्रदेश र संघीय सरकारमा पठाउन आग्रह गर्दै मन्त्री पन्थीले तत्कालका लागि आवश्यक टेन्ट, त्रिपाल लगायतका राहत पनि सरकारले पठाउने बताउनुभयो । विपद्को समयमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो ।
उक्त वडाका वडा अध्यक्ष कृष्णचन्द्र यादवले आगलागीबाट १३ घरमा क्षति पुगेको जसमध्ये चार घर पूर्ण क्षति,६ घरमा आंशिक र ३ घरमा केही मात्रामा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले पीडितलाई तत्कालका लागि आवास व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल), निवर्तमान प्रदेशसभा सदस्य एवं एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, प्रदेश सदस्य लक्ष्मी क्षेत्री,रामबहादुर भण्डारी, जिल्ला उपसचिव रिंगला यादव लगायतको सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस