२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रसद्धारा सुस्ता गाउँपालिकामा जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन

२०८१ बैशाख १३, बिहिबार प्रकाशित ( हफ्ता अघि) ८८ पाठक संख्या

मोहन पौडेल
परासी, वैशाख १३ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीमार्फत सुस्ता गाउँपालिकामा जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना लागू भएको छ । सन् २०२४ को नोभेम्बरसम्म सञ्चालन हुने परियोजना कार्यान्वयनका लागि रेडक्रस र गाउँपालिकाबीच बुधबार दुई पक्षीय सम्झौता भएको छ ।
क्यानेडियन रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा यो परियोजना सञ्चालन गरिएको हो । जलवायु परिवर्तनका कारण हुने विपद्हरुमा स्वास्थ्य प्रतिकार्यका लागि तयार रहन स्थानीय स्तरमा क्षमता विकास गर्नु तथा जलवायु परिवर्तनले हुन सक्ने रोगहरु रोकथाम, न्यूनीकरणका उपायहरु लगायतका विषयमा समुदाय स्तरमा सचेतना बढाउनु परियोजनाको मूख्य उद्देश्य रहेको परियोजनाका कार्यक्रम संयोजक अनुप खड्काले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरहरु, यसका कारणले उत्पन्न भएका रोगहरु,त्यसको न्यूनीकरणका उपायहरु र जलवायु परिवर्तनबाट स्वास्थ्य क्षेत्रमा परेका असरहरुको बारेमा समुदायस्तरमा जनचेतनामूलक गतिविधिहरु सञ्चालन गर्ने र आपतकालीन जनस्वास्थ्यको अवस्थामा प्रतिकार्य गर्न स्थानीय तहहरुसँग सहकार्य गर्दै गतिविधि सञ्चालन गर्न यो परियोजना अघि बढाईएको उहाँले बताउनुभयो ।
परियोजना सञ्चालन गर्दै रेडक्रस र गाउँपालिका दुवै पक्षबीच एक आपसमा सहकार्य गर्ने गरि दुई पक्षीय सम्झौता गरि परियोजना लागू गरिएको हो । नेपाल रेडक्रस सोसाईटीको तर्फबाट जिल्ला शाखा सभापति राजेन्द्र अग्रहरी र कार्यक्रम संयोजक अनुप खड्का तथा सुस्ता गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार रेडक्रसले परियोजनाको तर्फबाट पालिका स्तरमा गर्ने गतिविधि स्वास्थ्य शाखासँग निकटम सहकार्यमा गर्ने,पालिका स्तरका स्वास्थ्य सम्बन्धी योजना निर्माणमा सहजीकरण गर्ने र कार्यान्वयनमा प्राविधिक सहयोग गर्ने,स्वास्थ्यकर्मीहरुको क्षमता विकासका लागि प्रशिक्षण चलाउने,पालिका स्तरमा स्वास्थ्य विपद आईपरेमा प्रतिकार्य गर्ने कार्यमा पालिकालाई सहयोग गर्ने,स्वास्थ्य आपतकालिन प्रतिकार्य योजना तथा आकस्मिक योजना निर्माण गर्न सहयोग गर्ने,आवश्यकता अनुसार स्वयमसेवक परिचालन गर्नेछ ।
गाउँपालिकाले परियोजना सञ्चालनका लागि रेडक्रसलाई प्राविधिक तथा आर्थिक सहयोग गर्ने,विभिन्न प्रशिक्षणमा सहभागिता जनाउने,जलवायु परिवर्तन तथा स्वास्थ्य सम्बन्धी गतिविधिमा आवश्यकता अनुसार साझा बुझाई तथा साझा लगानीको वातावरण बनाउने, जलवायु र वातावरणीय स्वास्थ्य संस्था बनाउन सहयोग र सहजीकरण गर्ने, आवश्यक पृष्ठपोषण गर्ने लगायतका गतिविधि गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस