

परासी,३ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ मगरमुडहामा जारी दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेलामा खानेपानीको गुणस्तर परीक्षण गर्ने विशेष अवसर उपलब्ध गराइने भएको छ ।
‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत मेलास्थलमै खानेपानीको गुणस्तर परीक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागिएको हो । मंसिर ५ गते आयोजना हुने उक्त कार्यक्रममार्फत सर्वसाधारणलाई आफूले प्रयोग गर्दै आएको खानेपानीको गुणस्तरबारे जानकारी लिन अवसर प्रदान गरिनेछ ।
स्वच्छ तथा सुरक्षित खानेपानी मानव स्वास्थ्य र पोषणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको गुणस्तर परीक्षणप्रति सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको एकिकृत हातेमालो समाज नेपालका वरिष्ठ तथ्यांक व्यवस्थापन अधिकृत मीन रानाले जानकारी दिनुभयो ।
“खानेपानीमा हुन सक्ने सम्भावित प्रदूषण तथा अशुद्धताबारे जानकारी प्राप्त गर्नुका साथै सुरक्षित पानीको प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धिमा समेत कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।” उहाँले भन्नुभयो ।
खानेपानी परीक्षणका लागि न्यूनतम शुल्क लाग्ने र आफूले उपभोग गर्ने पानी घरबाटै ल्याउनुपर्ने उहाँले बताउनुभयो । हेलन केलर इन्टरनेसनल र आइडिईको प्राविधिक सहयोगमा एकिकृत हातेमालो समाज नेपाल र बेस नेपालद्धारा सञ्चालित ‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ ले मेलामा स्टल राखेर पोषणयुक्त खाद्य वस्तुको प्रदर्शनी तथा सचेतना अभिवृद्धि गर्दै आएको छ ।