२०८२ चैत्र ८, आईतबार
24 खबर अपडेट

महिला नेतृत्वमा आधारित जलवायु–स्मार्ट स्वास्थ्य सम्बन्धी दोस्रो चरणको तालिम सुरु

२०८२ चैत्र ८, आईतबार प्रकाशित ( घण्टा अघि) ५५ पाठक संख्या

परासी, ८ चैत । नेपाल रेडक्रस सोसाइटी पश्चिम नवलपरासी शाखाको आयोजनामा महिला जलवायु स्वास्थ्य समूहका लागि “महिला नेतृत्वमा आधारित जलवायु–स्मार्ट स्वास्थ्य समाधान” सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
आइतबार परासीमा सञ्चालन गरिएको तालिमको उद्घाटन शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले गर्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण बढ्दो स्वास्थ्य जोखिम न्यूनीकरणका लागि महिला नेतृत्व अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा उपसभापति माया अग्रहरीले तालिमका उद्देश्य प्रस्तुत गर्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्दै समुदायमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो। उहाँले तालिम सफलतापूर्वक सम्पन्न हुने विश्वाससमेत व्यक्त गर्नुभयो।
तालिममा महिलालाई जलवायु परिवर्तन र स्वास्थ्य जोखिमबारे जानकारी दिने, समुदायस्तरमा जलवायु–स्मार्ट स्वास्थ्य अभ्यास प्रवद्र्धन गर्ने, सरसफाइ, सुरक्षित खानेपानी र पोषण सुधारमा जोड दिने तथा समुदाय स्वास्थ्य निगरानी र सचेतना प्रणाली सुदृढ गर्ने विषय समेटिएको जिल्ला शाखाद्धारा सञ्चालित नवप्रवर्तन कोष परियोजनाका संयोजक गोकर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी,स्वास्थ्य निरीक्षक सुरज हरिजन र कृषि शाखा प्रमुख किरण गुप्ताले जलवायु परिवर्तनका असर, फोहोर व्यवस्थापन, करेसाबारी व्यवस्थापन तथा रेडक्रस अभियानबारे सहजीकरण गर्नुहुनेछ ।
सन् २०२५ नोभेम्बरदेखि शुरु भई सन् २०२६ को अप्रील महिनासम्म सञ्चालनमा रहने यो परियोजनाले रामग्राम नगरपालिका वडा नं. १२ र १४ तथा सरावल गाउँपालिका वडा नं. २ का तीन वटा टोललाई समेटेको छ। पहिलो चरणको तालिममा सरावल–२ र रामग्राम–१२ का ३० जना महिलाहरू सहभागी रहेका थिए भने यो दोस्रो चरणको तालिममा रामग्राम–१२ र १४ का गरि ३१ जनाको सहभागिता रहेको रेडक्रसले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस