

मोहन पौडेल
परासी, १६ फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आकस्मिक घटना तथा दुर्घटनाका घाइतेहरूको उद्धार तथा प्राथमिक उपचारका लागि १२ जना स्वयंसेवकलाई तयारी अवस्थामा राखेको छ।
निर्वाचन अवधिमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी रेडक्रसले शनिबार एक दिवसीय निर्वाचन लक्षित प्राथमिक उपचार तालिम सञ्चालन गरेको हो। तालिममार्फत स्वयंसेवकहरूलाई आपतकालीन अवस्थाको सामना गर्ने, घाइतेको प्रारम्भिक उपचार गर्ने तथा आवश्यक समन्वय गर्ने सीप प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले दैनिक ट्वान्टिफोर खबरलाई जानकारी दिनुभयो ।
“निर्वाचनका क्रममा हुन सक्ने आकस्मिक घटना तथा दुर्घटनामा परेकालाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले स्वयंसेवकहरूलाई विशेष प्रशिक्षण दिइएको हो”, उहाँले भन्नुभयो, “तालिमप्राप्त १२ जना स्वयंसेवक एम्बुलेन्स र प्राथमिक उपचार सामग्रीसहित आवश्यक स्थानमा खटिनेछन्।”
उक्त कार्यका लागि जिल्ला शाखाको तर्फबाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन क्षेत्रीलाई फोकल पर्सन तोकिएको सभापति अग्रहरीले बताउनुभयो । तालिम उद्घाटनको क्रममा सभापति अग्रहरीले रेडक्रसका सात सिद्धान्तअनुसार स्वयंसेवकहरूलाई निष्पक्ष र तटस्थ रही सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । “कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने, प्रचार–प्रसारमा संलग्न नहुने तथा कसैको पक्ष–विपक्षमा नलागी पूर्ण रूपमा मानवीय सेवामा समर्पित हुन आग्रह गर्दछु”, उहाँले भन्नभुयो ।
निर्वाचनको समयमा शान्तिपूर्ण र सुरक्षित वातावरण कायम राख्न सहयोग पु¥याउने उद्देश्यले शाखाले आवश्यक सबै तयारी पूरा गरेको फोकल पर्सन क्षेत्रीले जानकारी दिनुभयो । तालिममा रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य एवं प्राथमिक उपचार संयोजक घनश्याम यादवले प्रशिक्षण दिनुभएको थियो ।