२०८२ माघ २७, सोमबार
24 खबर अपडेट

बुहारीलाई जिउँदै जलाएर हत्याको प्रयास, सासु प्रहरीको नियन्त्रणमा

२०८२ माघ २६, आईतबार प्रकाशित ( घण्टा अघि) १३४ पाठक संख्या

परासी, २५ माघ । पश्चिम नवलपरासीमा आफ्नै बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका–१७ पट्खौलीकी शर्मिला हरिजनमाथि शनिबार मध्यराति डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा पीडितकी सासु कमलीदेवी हरिजनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो।
पीडित शर्मिलाले दिएको जाहेरीअनुसार घटनामा उनका श्रीमान् २८ वर्षीय गजेन्द्र हरिजन र हुकई निवासी विष्णु हरिजनसमेत संलग्न रहेको उल्लेख छ। उनीहरू हाल फरार रहेका छन्।
शर्मिलाले आफ्नै श्रीमान्, सासु र अर्का एक व्यक्तिले मिलेर मध्यरातमा आफूलाई डिजेल छर्केर जिउँदै जलाउने प्रयास गरेको बताएकी छिन्। उनका अनुसार श्रीमान् वैदेशिक रोजगारीका क्रममा अष्ट्रेलियामा रहेका बेला सासु तथा परिवारबाट निरन्तर घरेलु हिंसामा पर्दै आएकी थिइन्।
उनले श्रीमान् स्वदेश फर्किएको विषयसमेत आफूलाई जानकारी नदिई योजनाबद्ध रूपमा हत्या गर्ने प्रयास गरिएको जाहेरीमा दाबी गरेकी छिन्। घटनासम्बन्धी निवेदन प्राप्त भइसकेको र फरार अभियुक्तको खोजी तथा घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको डिएसपी पन्तले बताउनुभएको छ ।

IMG 20260208 WA0022

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस