

मोहन पौडेल
परासी, २४ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवास्थित ऐतिहासिक बर्दघाटे कालिका मन्दिरमा अब पशुबलि दिन नपाइने भएको छ। मन्दिर परिसरमै राम मन्दिर स्थापना गरिएपछि धार्मिक सहअस्तित्व र अहिंसाको भावनालाई आत्मसात गर्दै शुक्रबारबाट बलि दिन रोक लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
राम मन्दिर निर्माण गरी शुक्रबार रामजानकीको मूर्ति प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न भएकोले अवदेखि बर्दघाट कालिका मन्दिर परिसर क्षेत्रलाई सात्त्विक र शान्त धार्मिक स्थलका रूपमा विकास गर्ने उद्देश्यले पशुबलि दिन रोक लगाउने निर्णय गरिएको समितिका अध्यक्ष वीरेन्द्र यादवले दैनिक ट्वान्टीफोर खबर डटकमलाई जानकारी दिनुभयो ।
मन्दिर परिसरमा पशुको अक्षत दिन मात्र मिल्ने तर काट्न र पकाउन भने नमिल्ने उहाँले बताउनुभयो । मन्दिर परिसरमा पूजा, आराधना, भजन–कीर्तन तथा दीप प्रज्वलनजस्ता आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।
सरावल–७ वडा अध्यक्ष हेयात खाँ धुनियाको तर्फबाट वडाले विनियोजन गरेको रु दश लाखको लागतमा राम मन्दिर निर्माण गरिनुका साथै वडाकै सहयोग र अन्य सहयोग संकलनबाट मूर्ति स्थापना तथा प्राणप्रतिष्ठाको कार्य सम्पन्न गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
स्थानीय मात्र नभइ नेपाल तथा भारतबाट समेत यस मन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्न श्रद्धालु भक्तजनहरु यस मन्दिरमा आउने गर्दछन् । बडादशैँ, चैते नवमी तथा प्रत्येक सोमबार भक्तजनको विशेष भीड लाग्ने यस मन्दिरमा भाकल गरेको पुग्ने विश्वासका साथ पशुबलि दिने गरिन्थ्यो ।
पशुबलिमा रोक लगाइएपछि धार्मिक सहिष्णुता कायम राख्न तथा पशु हिंसामुक्त पुजा संस्कृतिलाई बढवा दिन टेवा पुग्ने स्थानीयको विश्वास छ । यस क्षेत्रकै पूरानो ऐतिहासिक महत्व बोकेको यस मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अनुरुप काम भइरहेको व्यवस्थापन समितिले जनाएको छ ।