

मोहन पौडेल
परासी, २३ माघ । पश्चिम नवलपरासीमा पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। माघ २५ गतेदेखि जिल्लाका २०५ खोप केन्द्रमार्फत ३ हजार ७५५ जना किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीका अनुसार विद्यालय जाने ३ हजार ५२३ जना र विद्यालय बाहिर रहेका २ सय ८ जना किशोरीलाई माघ २५ देखि २८ गतेसम्म खोप लगाइनेछ। बिहीबार स्वास्थ्य कार्यालयले आयोजना गरेको जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो।
कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेर पुगेका किशोरी तथा गत वर्ष सञ्चालन गरिएको खोप अभियानका क्रममा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रालाई एचपीभी खोप लगाइने प्रमुख शाहीले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लाका सातै स्थानीय तहमा १११ वटा सामुदायिक र ९३ वटा संस्थागत गरी २०४ वटा खोप केन्द्र विद्यालयमा स्थापना गरिएको छ भने विद्यालय नजाने किशोरीहरूका लागि बर्दघाट नगरपालिकाको संसारकोटमा एक खोप केन्द्र तोकिएको छ।
स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर भेषराज शर्माका अनुसार माघ २७ गतेसम्म विद्यालयमै खोप लगाइनेछ भने २८ गते विद्यालय छुटेका तथा विद्यालय नजाने किशोरीलाई लक्षित गरी स्वास्थ्य संस्थामार्फत खोप लगाइनेछ।
बर्दघाट नगरपालिकामा ६७६, सुनवल नगरपालिकामा ७४६, रामग्राम नगरपालिकामा ५४३, पाल्हीनन्दन गाउँपालिकामा ४८८, सरावल गाउँपालिकामा ३४८, प्रतापपुर गाउँपालिकामा ५७८ र सुस्ता गाउँपालिकामा ३७६ जना किशोरी यस अभियानबाट लाभान्वित हुनेछन्।
गत वर्ष नवलपरासीमा एचपीभी खोप अभियानमार्फत ९८ दशमलव ३० प्रतिशत किशोरीलाई खोप लगाइएको थियो। गत वर्ष अभियानको रूपमा सञ्चालन गरिएको भए पनि हाल एचपीभी खोपलाई सरकारले नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष भगौती यादव (रुदल)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेन्द्र सुवेदी लगायतले खोप अभियान सफल बनाउन सबै सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।