

परासी, १७ माघ । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको जनआकर्षण तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दल परित्याग गर्दै रामग्राम–२ का पूर्व वडा अध्यक्ष चन्द्रिका अग्रहरी, पाल्हीनन्दन–४ का पूर्व वडा अध्यक्ष सञ्जय पाठक, पूर्व कार्यपालिका सदस्य इन्दा हरिजन,पाल्ही क्याम्पसका स्ववियू सभापति नीरज धवललगायत उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।
पश्चिम नवलपरासी क्षेत्र नं. २ को परासीमा चुनावी सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमको अवसरमा नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय उपसभापति डिपी अर्यालले स्वागत गर्नुभएको हो। जिल्ला उपसभापति रबी पाण्डेयका अनुसार पश्चिम नवलपरासीमा रास्वपाप्रति जनविश्वास दिनानुदिन बढिरहेको छ।
रास्वपाका केन्द्रीय उपसभापति अर्यालले परिवर्तनका लागि नागरिक स्वयं जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “तपाईंहरूले रबी लामिछाने र बालेन शाहलाई खोजिरहनुभएको छ, तर त्यो व्यक्तित्व तपाईं आफै बन्नुपर्छ,” उहाँले भन्नुभयो, “परिवर्तन नेताबाट मात्र होइन, जनताबाट सुरु हुन्छ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक निर्वाचनको संज्ञा दिँदै अर्यालले यो निर्वाचन देश समृद्धितर्फ उक्लिने कि अझै दलदलमा फस्ने भन्ने फैसला गर्ने निर्वाचन भएको उल्लेख गर्नुभयो। “हामी आधा होइन, पूर्ण भ्रष्टाचार अन्त्य चाहन्छौँ। सुशासन र समृद्धिका लागि रास्वपालाई पूर्ण समर्थन आवश्यक छ,” उहाँको भनाइ थियो।
कार्यक्रममा क्षेत्र नं. २ का उम्मेदवार नरेन्द्र गुप्ताले रास्वपा परिवर्तनको संवाहक बनेको बताउँदै चुनावपछि बन्ने सरकारले सेवाप्रवाह सुधार, सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्ने दाबी गर्नुभयो। सरकारी कार्यालयमा विचौलिया संस्कार अन्त्य गर्न रास्वपाले नेतृत्व लिने उहाँले स्पष्ट पार्नुभयो।
क्षेत्र नं. १ का उम्मेदवार विक्रम खनालले देश र समाज रूपान्तरणको अभियानमा आफू दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “पुराना दलहरूले जनभावनाअनुसार शासन गर्न नसक्दा जनतामा व्यापक वितृष्णा पैदा भएको छ,” उहाँले भन्नुभयो। विकास, सुशासन र जनताको दुःखमा सधैं साथ दिने उहाँको प्रतिबद्धता थियो।