२०८२ माघ १२, आईतबार
24 खबर अपडेट

 चुनावी मैदानमा राजु हरिजन, अभियानलाई तीव्रता दिँदै 

२०८२ माघ १२, आईतबार प्रकाशित ( घण्टा अघि) ८५ पाठक संख्या

परासी,११ माघ। नेकपा (माओवादी) बाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा जिल्ला इन्चार्ज राजु हरिजनले उम्मेदवारी मनोनयन दर्ता गराएसँगै चुनावी अभियानलाई तीव्र बनाउनु भएको छ ।
गाउँ–बस्ती केन्द्रित जनसम्पर्क, नागरिक भेटघाट तथा अन्तरक्रियालाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको उहाँले बताउनु भयो ।  हरिजनले देशमा वास्तविक परिवर्तनका लागि वर्तमान राजनीतिक व्यवस्थामा आधारभूत सुधार अपरिहार्य भएको बताउनुहुन्छ ।
उहाँले संविधान पुनर्लेखनमार्फत नागरिकका मौलिक हक–अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै अधिकारसहितको राज्य पुनर्संरचना र समाजवादी संघीय व्यवस्था स्थापना नै मुलुकको दीर्घकालीन समाधान भएको धारणा व्यक्त गर्नुभयो ।

जनताको चाहना, पीडा र जनजीविकाका सवाललाई राजनीतिको मूल केन्द्र बनाइने प्रतिबद्धता उहाँको छ । भ्रष्टाचार देशको सबैभन्दा गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै हरिजनले जनताको मागअनुसार भ्रष्टाचार छानबिनका लागि शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्न विशेष न्यायालय स्थापना आवश्यक रहेको बताउनुभयो ।
शिक्षा क्षेत्रप्रति आफ्नो स्पष्ट धारणा राख्दै उहाँले शिक्षालाई गुणस्तरीय, समान पहुँचयुक्त र पूर्ण रूपमा निशुल्क बनाइनुपर्ने बताउनुभयो। यस्तै, एमसिसी सम्झौता संविधान र राष्ट्रिय कानुनको अधीनमा नआए तत्काल खारेज गर्नुपर्ने अडानसमेत उहाँले दोहोर्‍याउनुभयो ।
आर्थिक अन्यायका मुद्दालाई प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै उहाँले मिटरब्याज पीडित, बैंक तथा लघुवित्त पीडितहरूको समस्या समाधानलाई प्राथमिकतामा राखेर संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उत्पीडित, गरिब, दलित, श्रमिक तथा पछाडि पारिएका समुदायको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका हरिजनले ती वर्गको आवाज संसदसम्म पुर्‍याउने संकल्पसमेत दोहोर्‍याउनुभयो ।
जनआन्दोलनदेखि सामाजिक सेवासम्म लामो समयदेखि सक्रिय रहेका हरिजन स्थानीयस्तरमा जनताको दुःख–सुखमा साथ दिने नेताका रूपमा परिचित हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%

प्रतिक्रिया दिनुहोस