

परासी,१४ पुस । नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका प्रतिभाशाली गायक तथा संगीतकार सुरज भुसालले नवौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०८२ अन्तर्गत सर्वोत्कृष्ट नवगायक विधामा अवार्ड जित्न सफल हुनुभएको छ ।
पुस ११ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न अवार्ड समारोहमा देशभरका ख्यातिप्राप्त कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्याएका कलाकारहरूलाई विभिन्न विधामा सम्मान तथा अभिनन्दन गरिएको थियो।
राप्ती म्युजिक सोसाइटीका अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि तथा वरिष्ठ कलाकार नीर शाह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
विगत केही वर्षदेखि काठमाडौँलाई कर्मथलो बनाएर गीत–संगीत क्षेत्रमा निरन्तर संघर्ष गर्दै आउनुभएका सुरज भुसाल हाल द म्युजिक एरर स्टुडियोमा रेकर्डिङसँगै संगीत संयोजनको भूमिकामा पनि सक्रिय हुनुहुन्छ । उहाँको मेहनत, लगनशीलता र बहुप्रतिभाशाली क्षमतालाई यसपटकको अवार्डले औपचारिक मान्यता दिएको हो।
बिमल न्यौपानेको शब्द तथा संगीतमा तयार भएको ‘मैसँग जान्छौ होला नि’ गीतमा भुसाल र इबसल सन्ज्यालको स्वर रहेको छ। २०८१ सालमा सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा उपेन घर्ती मगर र बिपना कुँवरको अभिनय देख्न सकिन्छ।
अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भुसालले भन्नुभयो, “यो मेरो जीवनको पहिलो अवार्ड हो, यसले मलाई थप ऊर्जा र प्रेरणा दिएको छ। आगामी दिनमा अझ स्तरीय गीत–संगीतमार्फत दर्शक–श्रोताको माया जित्ने प्रयास निरन्तर रहनेछ।”
नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आउनु भएका भुसालको यस सफलताले उहाँका आगामी सिर्जनाप्रति थप अपेक्षा बढाएको छ।