२०८२ कार्तिक २१, बिहिबार
24 खबर अपडेट

एमाले सुनवलले जनपरिचालन गर्ने, जनभेला र जनप्रदर्शनमा सहभागि हुन आग्रह

२०८२ कार्तिक २१, बिहिबार प्रकाशित ( घण्टा अघि) १३१ पाठक संख्या

परासी, २० कात्तिक ।  संविधानको रक्षा र लोकतन्त्रको जर्गेनाका लागि नेकपा एमाले सुनवलले जनपरिचालन गर्ने भएको छ । बुधबार सम्पन्न नगर कमिटीको सातौँ विस्तारित बैठकले यही कात्तिक २२ गते प्रत्येक वडामा जनभेला तथा कात्तिक २५ गते नगर स्तरीय जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।
संसद विघटन र प्रतिगामी षडयन्त्र विरुद्ध पार्टीको केन्द्रीय निर्देशन अनुसार सुनवलमा पनि जनपरिचालन गरि शक्ति प्रदर्शन गर्न लागिएको एमाले सुनवल नगर अध्यक्ष मुक्तिबहादुर भण्डारीले बताउनुभयो । बैठकले नगरका १३ वटै वडामा जनभेलाका लागि सम्बन्धित वडामा रहेका जिल्ला सदस्यहरुलाई जिम्मेवारी दिएको छ । एमालेले सबै नेता, कार्यकर्ता तथा आम नागरिकलाई जनभेला र जनप्रदर्शनमा सहभागि हुन आह्वान गरेको छ ।
यसअघि पार्टीद्धारा सञ्चालित जरा अभियानको नेतृत्व गरेका जिल्ला सदस्यहरुले जनभेलाको नेतृत्व गर्ने र सोही वडामा हुने पार्टीका केन्द्र, प्रदेश,जिल्लादेखि वडा तहसम्मका नेता कार्यकर्ताले भेलामा सहभागि हुने अध्यक्ष भण्डारीले बताउनुभयो । जेनजी आन्दोलनपछि पहिलो पटक भएको नगर कमिटीको बैठकमा सदस्यहरुले पार्टीलाई बलियो बनाउन,कार्यकर्तामा उत्साहत थप्न तथा योगदानको आधारमा जिम्मेवारी दिन सुझाव दिएका थिए ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सरिता भुसाल खनालले एमाले चुनावबाट डराउने पार्टी नभएको तर वर्तमान सन्दर्भमा सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेकाले चुनाव हुने सम्भावना नदेखिएको जिकिर गर्नुभयो । चुनाव हुने सम्भावना नदेखिएकै कारण एमालेले संसद पुनःस्थापनाको माग गरेको उहाँले बताउनुभयो ।
मुलुकको समृद्धिका लागि एमालेको विकल्प नभएको बताउँदै नेतृ खनालले उच्च मनोबलका साथ पार्टीको काममा लाग्न र जनतालाई बुझाउन समेत आग्रह गर्नुभयो । सामाजिक सञ्जालको प्रयोग गरी एमालेलाई कमजोर बनाउने र एमालेको नेतृत्वप्रति अफबाह फैलाउने षडयन्त्र भइरहेकोले त्यस्ता गतिविधिको विश्वास नगर्न र डटेर प्रतिकार गर्न पनि उहाँले जोड दिनुभयो ।
यस्तै एमाले केन्द्रीय सदस्य बिमला अर्यालले देशको समृद्धि र एमालेलाई बलियो बनाउन केपी ओलीको नेतृत्वको विकल्प नभएको बताउनुभयो । जेनजी आन्दोलनको नाममा घुसपैठ गरी आफूहरुको घर जलाउने र तोडफोड गरेर कमजोर बनाउने षडयन्त्र गरिएपनि विचारलाई भत्काउन नसकेको उहाँको भनाइ थियो ।
उक्त अवसरमा एमाले केन्द्रीय स्कुल विभाग सदस्य बद्री खनाल, प्रदेश सदस्य द्धय थानप्रसाद गैरे, सूर्यप्रसाद न्यौपाने,जिल्ला उपसचिव राजन कुमार आचार्य,जिल्ला सचिवालय सदस्य लेखनाथ खरेल,जिल्ला सदस्य कर्णबहादुर सेन,मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्याल, नगर उपाध्यक्ष नरिश्वर पराजुली लगायतले सम्बोधन गर्नुभएको नगर सचिव श्याम गुरुङले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस