परासी,१४ फागुन । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले पाल्हीनन्दन गाउँपालिका –३ बेलाशपुरमा भएको झड्पको घटनामा स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा प्रकाशित प्रेस बक्तब्यमा भर्खर सरुवा भएर जिल्लामा आउने प्रमुख जिल्ला अधिकारी आइ नसक्नु , स्थानीय प्रशासनले गृहको मुख ताक्नुपर्ने अवस्था र जिल्ला सुरक्षा समितिको निर्णय क्षमता, घटनामा समयमै दमकल र एम्बुलेन्स नपु्ग्नु जस्ता परिघटनाको अध्ययनबाट स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको उल्लेख गरिएको छ ।
साथै, पार्टीले उक्त घटनाको उचित सर्बपक्षीय छानविन गरी घटनामा संम्लग्नहरु माथि हदै सम्मको कारवाहीको माग गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जारी गरेको प्रेस बक्तब्यको पुर्णपाठ यस प्रकार रहेको छ –
‘२०८१ फागुन १३ गते भएको दुई स्थानीय समुदायबीच विवाद र त्यसबाट उत्पन्न झड्प प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । २१ औं शताब्दीमा पनि प्रेम सम्बन्धको बिषयलाई लिएर भएको यस घटनाले हाम्रो पार्टीलाई निकै दुःखित बनाएको छ । उक्त असामाजिक घटनाको हामी घोर निन्दा तथा भत्र्सना गर्न चाहन्छौ ।
समाजमा अन्तरबिरोधहरु जेलिएर रहेका हुन्छन् । त्यसैले अन्तरबिरोधहरुको सही पहिचान र त्यसको समाधान उचित ढंगले गरिनु आवश्यक हुन्छ । यस्ता घटनामा समुदाय निकै सर्तक हुनु नै पर्दछ । स्थानीय बासिन्दाले नै सहिष्णुता कायम गर्न हर प्रयत्न गरिनुपर्दछ । यद्धपि स्थानीयवासीको यत्न प्रयत्नले मात्र घटना रोकिने अवस्था नहुन पनि सक्छ । त्यसैले स्थानीय प्रशासनले समयमै सुक्ष्म अध्ययन, अनुसन्धान, बिष्लेषण र संष्लेषण गरेर नियन्त्रणको पूर्व तयारी गरिनुपर्दथ्यो ।
भर्खर सरुवा भएर जिल्लामा आउने प्रमुख जिल्ला अधिकारी आइ नसक्नु , स्थानीय प्रशासनले गृहको मुख ताक्नुपर्ने अवस्था र जिल्ला सुरक्षा समितिको निर्णय क्षमता, घटनामा समयमै दमकल र एम्बुलेन्स नपु्ग्नु जस्ता परिघटनाको अध्ययनबाट स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको हाम्रो पार्टीको ठहर रहेको छ । साथै झड्पलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको र ५ सुरक्षाकर्मी र १६ जना स्थानीय घाइते भएको मध्ये ३५ बर्षीय बिजय धवलको निधन समेत हुनु पुगेको छ । अतः हामी मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मृतकको परिवारजन प्रति समबेदना ब्यक्त गर्दछौ । हाम्रो पार्टी घटनामा घाइते भएकाहरुको उपचारको उचित ब्यवस्था र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । त्यसैले यस्ता घटना दोहोरिन नदिनका लागि अझ पूर्व सर्तकता अपनाउन हामी स्थानीय प्रशासनसंग आग्रह गर्दछौ ।
अतः यस्ता असामाजिक घटना सभ्य समाजका लागि पाच्य हुनै सक्दैन । त्यसैले हाम्रो पार्टी उक्त घटनाको उचित सर्बपक्षीय छानविन गरी घटनामा संम्लग्नहरु माथि हदै सम्मको कारवाहीको माग गर्दछ ।’
Pal1