२०८१ मंसिर ९, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा उपभोक्ता अधिकारकर्मीलाई प्रशिक्षण

२०८० कार्तिक २०, सोमबार प्रकाशित ( साल अघि) ५७६ पाठक संख्या

परासी, २० कात्तिक । पश्चिम नवलपरासीमा उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुलाई प्रशिक्षण दिईएको छ । उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत नेपालकै अग्रणी संस्था उपभोक्ता हित संरक्षण मञ्च जिल्ला समिति नवलपरासीले आज मञ्चमा आवद्ध अधिकारकर्मीहरुलाई क्रियाशील बनाउन एक दिनको प्रशिक्षण दिएको हो ।
परासीमा आयोजित प्रशिक्षण कार्यक्रममा उपभोक्ता अधिकार, कानूनी व्यवस्था, बजार अनुगमन, उपभोक्ता अधिकारकर्मीको काम, कर्तव्य र अधिकार लगायतका विषयमा प्रशिक्षण दिईएको उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्माले जानकारी दिनुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला तथा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।
मञ्चमा आवद्ध अधिकारकर्मीलाई सक्षम बनाई उपभोक्ता शसक्तीकरण र नियमन प्रभावकारी बनाउनका लागि प्रशिक्षण सञ्चालन गरिएको उहाँले बताउनुभयो । उक्त अवसरमा मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले उपभोक्ता अधिकार, यसको विकासक्रम, बजारको अवस्था, उपभोक्ता ठगिने कारण, उपभोक्ता जागरण र अधिकारकर्मीको काम कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिनुभएको थियो भने घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख पुरुषोत्तम पौडेलले उपभोक्ता अधिकार कानूनी व्यवस्था र बजार अनुगमनको विषयमा प्रशिक्षण दिनुभएको अध्यक्ष शर्माले बताउनुभयो ।
उपभोक्ता अधिकार मौलिक हक भएको बताउँदै अध्यक्ष शर्माले स्थानीय बजार अनुगमनका लागि पालिकाहरुले कानून बनाउनुपर्नेमा जोड दिनुभयो । कानूनको माध्यमबाट बजार नियमन र कारवाही गर्न सहज हुने बताउँदै अध्यक्ष शर्माले मञ्चले उपभोक्ता अधिकारको लागि निरन्तर आवाज उठाईरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले उपभोक्ता सचेत नभएसम्म स्वच्छ बजार कायम हुन नसक्ने बताउनुभयो । नगरपालिकाले अनाधिकृत रुपमा व्यवसाय गरिरहेकालाई कानूनी दायरामा ल्याउने र गुणस्तरीय वस्तु तथा सेवा खरिदविक्रीमा जोड दिँदै आएको बताउनुभयो । उपभोक्ता सचेत हुन सके व्यवसायीले पनि ठगी गर्न नसक्ने बताउँदै उहाँले कालोबजारी,अनियमितता,कृत्रिम अभाव सृजना गर्ने विरुद्ध सम्बन्धित निकायमा उजुरी गर्न मेयर यादवले आग्रह गर्नुभयो । उजुरी प्राप्त भएपछि गलत गर्नेलाई कारवाही गरिने उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बजार अनुगमन र नियमन गर्ने दायित्व र जिम्मेवारी प्रशासनकै भएकोले आफूहरुले भूमिका खेलिरहेको र त्यसमा आम सरोकारवालाको सहयोग हुनुपर्ने बताउनुभयो । जिल्लामा योजनाबद्ध रुपमा नियमित बजार अनुगमन भईरहेको बताउँदै सहायक प्रजिअ देवकोटाले तीनै तहका सरकारले आआफ्नो भूमिका निभाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले नेपालको संविधानको धारा ४४ मा उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त हुने र गुणस्तरहीन वस्तु तथा सेवाबाट हानी पुगेमा क्षतिपूर्तिको हक हुने उल्लेख रहेको बताउनुभयो । उपभोक्ताको हक कार्यान्वयन गर्ने,बजार स्वच्छ राख्ने र संरक्षण गर्ने दायित्व पनि सरकारकै भएकोले मञ्चले निरन्तर सरकारलाई कार्यान्वयनका लागि दबाब दिँदे आएको उहाँले बताउनुभयो । उपभोक्ता सचेत हुने, सक्रिय हुने र उजुरी गर्न सक्ने भएमा वस्तु तथा सेवा प्रदायक पनि सचेत हुने बताउँदै केन्द्रीय सदस्य ज्ञवालीले उपभोक्ता अधिकारकर्मीहरु अझै बढी क्रियाशील हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

C2

कार्यक्रममा नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवार, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला उपाध्यक्ष भोजराज बराकोटी, बर्दघाट नगर कमिटी अध्यक्ष हुमनाथ आचार्य, सुनवल नगर कमिटी उपाध्यक्ष पुष्पा पन्त लगायतले उपभोक्ता अधिकार र भूमिकाको विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीका जिल्ला सचिव मोहन पौडेलले जानकारी दिनुभयो ।

C3

 

.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस