२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावितका लागि वरदान बन्दै आधारभूत स्वास्थ्य परियोजना

२०८० भाद्र ८, शुक्रबार प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

मोहन पौडेल
परासी, ८ भदौ । उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावित व्यक्ति तथा समुदायका लागि नवलपरासीमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजना बरदान सावित भएको छ । सरकारको प्राथमिकतामा पर्न नसकेको उष्ण प्रदेशीय रोगहरुको रोकथाम, निदान, पहिचान तथा उपचारमा परियोजनाले काम गर्न थालेपछि यस रोगबाट प्रभावित नागरिक लाभान्वित भएका छन् ।
पश्चिम नवलपरासीसहित तराईका अधिकांश जिल्लामा उपेक्षित उष्ण प्रदेशीय रोगबाट धेरै नागरिक पीडित छन् । कुष्ठरोग, हात्तिपाईले, डेंगु, सर्पदंश जस्ता रोगबाट विशेषगरी गरिब, सीमान्तकृत,पिछडिएको वस्तीमा बसोबास गर्ने नागरिक प्रभावित रहेको पाईन्छ । सचेतनाको कमीका कारण यो रोग बल्झिँदै गएको छ भने व्यक्ति, परिवार, समाज र राष्ट्रले नै यस किसिमका रोगको निदानमा उपेक्षा गर्दै आएको प्रभावित बताउँछन् ।
सन् २०१९ देखि फेयर मेड फाउण्डेसन र ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर नवलपरासीले आधारभूत स्वास्थ्य परियोजना सञ्चालन गरि उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावित व्यक्ति र समुदायलाई सचेत बनाउन थालेपछि यो रोगबाट प्रभावित नागरिकले नयाँ जीवन पाएको महशुस गर्न थालेका छन् । परियोजनाले यस क्षेत्रमा काम गर्न थालेपछि उष्ण प्रदेशीय रोगबाट प्रभावित व्यक्ति र समुदाय सचेत हुन थालेको ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो परियोजनाले उपेक्षित उच्च प्रदेशीय रोगहरुको रोकथाम, निदान, पहिचान र उपचारको व्यवस्थाका लागि काम गर्दै आएको छ, यीनै रोगका कारण अपांगता हुन नदिन र अपांगता भईसकेकालाई क्षमता अभिवृद्धि तथा जीविकोपार्जनको लागि काम गरिरहेको छ,मातृ शिशु स्वास्थ्यको प्रवद्र्धन, स्वास्थ्य संस्थाको प्रणाली सुधार लगायतको क्षेत्रमा काम गरिरहेको छ ।”
परियोजनाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अपांगता भएका व्यक्तिहरु ऋाफनो अधिकार खोज्ने र रोजगारीमा जोडिन थालेका छन् । उष्ण प्रदेशीय रोगबाट प्रभावित भई अपांगता बन्न पुगेका यहाँका नागरिकले अपांगता भएर बाँच्नुपर्दा घरपरिवार र समाजको लागि बोझ भएर बस्नुपरेको, आफ्नो समस्या भन्ने,अधिकार खोज्ने र केही गर्ने अठोट लिएपनि उपयुक्त माध्यम नपाउँदा निराश भएर बसेका थिए ।
तर आधारभूत स्वास्थ्य परियोजनाले विपन्न वस्तीमा रहेका अपांगता भएका व्यक्तिहरुलाई खोज्दै सहयोग गर्न थालेपछि यहाँका अपांगता भएका व्यक्तिहरुले राहतको महशुस गर्न पाएका छन् । यो परियोजना अहिले उनीहरुको लागि बरदान सावित भएको छ। परियोजनाले सहयोग गर्न थालेपछि अहिले आफूहरु संगठित हुँदै आफनो अधिकार खोज्ने र आयआर्जनमा सक्रिय हुन थालेको अपांगता सेवा संस्था सरावलका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो । सरावल–५ धनगढवा निवासी शर्मा पोलियोको कारण शारिरीक अपांगता हुन पुग्नुभएको थियो ।
उहाँ अहिले अपांगता भएपनि समाजको उदाहरणीय व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । हात र खु्टटामा समस्या हुँदा हुँदै पनि उहाँले ई–रिक्सा चलाएर आफ्नो जीविकोपार्जन गर्नुभएको छ। रातबिरात नभनी उहाँले कैयौँ सुत्केरीको उद्धार गरि अस्पताल पुर्याउने गर्र्दै गाउँको एम्बुलेन्सको रुपमा समेत काम गर्दै आउनुभएको पूर्व वडा अध्यक्ष दिनेश सहानीले बताउनुभयो ।

Uu2

यहाँका अपांगता भएका व्यक्तिहरुलाई संगठित गरि क्षमता अभिवृद्धि तालिम तथा अन्य प्राविधिक सहयोग गर्न थालेपछि अहिले उहाँहरु ऋाआफ्नो अधिकारबारे सचेत हुँदै अवसर र आयआर्जनमा अग्रसर हुन थाल्नुभएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले बताउनुभयो ।
“के गर्ने, कहाँ गएर अधिकार खोज्ने,कसरी आवाज उठाउने भन्नेमा उहाँहरुमा अन्यौलता थियो, हामीले परियोजना मार्फत क्षमता विकासको तालिम दियौँ,संगठित भएर मागहरु राख्न सक्ने हुनुभयो, संस्था दर्ता भयो, गाउँपालिकाबाट विनियोजित हुने बजेटमा दाबी गर्न थाल्नुभयो, हामीले प्रस्तावना लेखनमा सहयोग गर्यौँ र पालिकाबाट तीन लाख बजेट ल्याएर सीप तालिम गरि अहिले आयआर्जनमा जोडिनुभएको छ”, उहाँले भन्नुभयो ।
यसरी उष्ण प्रदेशीय रोगबाट अपांगता हुन पुगेका व्यक्तिहरुलाई परियोजनाले पूर्वाधार भन्दा पनि उनीहरुलाई सशक्तिकरण गरि समुदायमा पुनःस्थापना गराउने र जीविकोपार्जनमा सहयोग पुर्याउने काम गरेको आचार्यको भनाई छ । परियोजनाले अपांगता भएका व्यक्तिहरुलाई चिकित्सकको सिफारिस अनुसार उनीहरुको शारिरीक अवस्था अनुसारको ह्वील चेयर पनि वितरण गरेको छ ।
यहाँका अपांगता भएका नागरिकमा सशक्तिकरण आएपछि अहिले गाउँपालिकाले पनि प्राथमिकताका साथ बजेट विनियोजन गर्न थालेको अपांग सेवा संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । यद्यपी पालिकाका प्रमुख उपप्रमुखहरु माथिल्लो तलामा बस्ने हुँदा आफूहरुले सहजै भेट्ने र गुनासो राख्ने गर्न भने समस्या रहेको उहाँले बताउनुभयो।
आफू जस्तै अपांगता भएका व्यक्तिहरुलाई विशेष खालको चर्पी व्यवस्थापन गरिदिन पनि उहाँले आग्रह गर्नुभएको छ । अहिले यहाँका अपांगता भएका व्यक्तिहरु घरपरिवार र समाजको लागि बोझ होईन् अवसर पाएमा केही गर्न सक्छन् भन्ने उदाहरण बन्न सफल भएका छन् ।
सुनवल नगरपालिकामा पनि यो परियोजना लागू भएपछि विशेषगरी कुष्ठ रोगबाट प्रभावित नागरिक लाभावन्ति भएका छन् । आधारभूत स्वास्थ्य परियोजना लागू भएपछि कुष्ठरोगबाट प्रभावित व्यक्तिको खोजपड्ताल, कन्ट्याक्ट ट्रेसिङ् तथा कुष्ठरोगका कारण अपांगता हुनबाट जोगाउन स्वयम हेरचाह प्रवद्र्धन लगायतका काममा निकै सहज भएको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानले बताउनुभयो ।
“परियोजनाले उपेक्षित उष्ण प्रदेशीय रोग निदानका लागि पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका,आमा समूह लगायतलाई स्वास्थ्य तालिम प्रदान गरि प्रभावितलाई उद्धारका लागि सहजीकरण गरेको छ, वडा नं.११ मा कुष्ठबाट प्रभावित आमा समूहलाई बिउ पुँजी दिएर आयआर्जनमा प्रोत्साहन गरेको छ,वडा न..४ र ११ का स्वास्थ्य संस्थामा गाउँघर क्लिनिक सञ्चालनका लागि सामग्री दिएको छ”, उहाँले भन्नुभयो ।
परियोजनाले सुनवलमा डेंगु नियन्त्रण, पूर्ण संस्थागत सुत्केरीयुक्त नगरपालिका घोषणा लगायतमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । कुष्ठरोगीको खोजपड्ताल,आमा समुहलाई स्वास्थ्य शिक्षा प्रवद्र्धन,अपांगता फिजियोथेरापी शिविर सञ्चालन,स्वयम हेरचाह तालिम लगायतका परियोजनाका गतिविधिले उष्ण प्रदेशीय रोगको निदानमा महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो ।
सुनवलमा गत आवमा १५ जना र अघिल्लो आवमा २२ जना कुष्ठरोगी फेला परेका थिए । परियोजनाको सहकार्यमा गरिएको खोजपड्तालको क्रममा पनि तीन जना कुष्ठरोगी र दुई जना हात्तिपाईलेबाट प्रभावित रोगी फेला परेका स्वास्थ्य शाखाले जनाएको छ । परियोजनाको सहयोगले कार्यसम्पादन र सेवाग्राहीलाई समेत सहज भईहरेको शाखा प्रमुख न्यौपानेको भनाई छ ।
सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि तराईका जिल्लामा यो रोगबाट प्रभावित व्यक्तिहरु पmेला परिरहेकोले यो परियोजनाले यसको निदानमा काम गरेको फेयर मेडका विपिन थापाले बताउनुभयो । यसका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरि खोजपड्ताल तथा घरघरमै पुगेर खोज्ने काममा परियोजनाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि नै सुनवलमा परियोजनाले काम गर्दैै आएको र प्रभावकारी देखिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो , “कुष्ठ प्रभावित र हात्तिपाईले प्रभावितको हामीले समुदाय स्तरको स्वयम हेरचाह समूह बनाएका छौँ,यो रोगबाट प्रभावित भएर लामो समयसम्म हेरचाह नगर्दा, सरसफाइ नगर्दा थप बल्झिने, अपांगता हुने जस्ता विकराल समस्या हुने भएकोले समूह बनाएर उहाँहरुलाई घरमै कसरी हेरचाह गर्ने भनेर सहजीकरण गरेका छौँ, जसले गर्दा भोली उनीहरु अपांगता हुन नपरोस् र भईकसेकालाई पनि व्यवस्थापन गर्न सकुन् भनेर हामीले सहयोग गरिरहेका छौँ”
परियोजनाले सन् २०१९ देखि पश्चिम नवलपरासीको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा स्वास्थ्य संस्थाको प्रणालीमा सुधार, उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावित व्यक्ति समुदायलाई सचेत,नवजात शिशु तथा मातृ मृत्युदर कम गर्ने तथा अपांगता समावेशकरणको सवालमा काम गर्दै आएको छ ।
सरावल र सुनवलमा परियोजनाका गतिविधिको अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले परियोजना सफल रुपमा अघि बढेको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिको सबलीकरण र पहुँच विस्तारमा पहल गर्ने बताउँदै परियोजनाका कार्यलाई आगामी दिनमा पनि थप प्रभावकारी बनाउँदै लैजान आग्रह गर्नुभयो ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले परियोजनाको सहयोगले स्वास्थ्य क्षेत्र सुदृढीकरण तथा उष्ण प्रदेशीय रोगबाट प्रभावितको पुनःस्थापनामा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो । उहाँले आगामी दिनमा छरिएर भन्दा पनि एउटा विशेष क्षेत्रलाई प्राथमिकता दिएर एकमुष्ठ लगानी गर्न सके थप प्रभावकारी हुने सुझाव दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस