२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

दुर्घटना बढाउँदै परासी–नारायणचोक हुलाकी सडक,लापरवाही गर्ने ठेकेदारबारे ठोस निर्णय लिनुपर्छ : जिसस प्रमुख यादव

२०८० श्रावण २७, शनिबार प्रकाशित ( साल अघि) १०५६ पाठक संख्या

मोहन पौडेल
परासी, २७ साउन । ठेकेदारको चरम लापरवाहीका कारण पश्चिम नवलपरासीस्थित परासी–नारायणचोक हुलाकी सडकमा दुर्घटना बढ्दै गएको छ । लामो समयदेखि सडक निर्माण कार्य समेत अलपत्र पार्दै आएको ठेकेदारलाई सरकारले कारवाही गर्न पनि सकेको छैन् ।
हुलाकी सडक निर्माण सम्पन्न नगरी अलपत्र छाडेको निर्माण कम्पनीले पछिल्लो पटक सडक किनारमा ठूलाठूला ढुंगासहितको ग्रावेल खसालेर छोड्दा दुर्घटना बढेको स्थानीयको गुनासो छ । सडकको किनारमा कालोपत्रेपछि लेवल मिलाउनका लागि भन्दै खसालिएको ग्रावेल लामो समयदेखि सडक किनारमै थुपारेर राख्दा दुर्घटना बढेको हो ।
सडक निर्माण सुचारु गर्न र सडक किनारमा राखिएका निर्माण सामग्री हटाउन ठेकेदार पक्षलाई पटकपटक आग्रह गरिएपनि ठेकेदारले अटेरी गर्दै आएको हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुले जनाएको छ । सडकको दुवै किनारमा वेवारिसे अवस्थामा ठूलाठूला ढुंगासहितको मिस्कट राख्ने र सडक निर्माणसमेत अलपत्र बनाउने ठेकेदारको विषयमा ठोस निर्णय लिन जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुलाई आग्रह गर्नुभएको छ ।
हुलाकी सडकको स्थलगत निरीषणको क्रममा आयोजना कार्यालयका अधिकारीहरुलाई जिसस प्रमुख यादवले ठेकेदारको विषयमा छिटो निर्णय लिन जोड दिनुभएको हो । उहाँले भन्नुभयो, “सडकको जिम्मा लिएपछि ठेकेदारले कि गर्नुपर्यो कि छोड्नुपर्यो, जनताले धेरै सास्ती पाए,ठेकेदारलाई कहिलेसम्म कुर्ने, तपाईहरुले एउटा ठोस निर्णय लिनुपर्यो”
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडकको निर्माण वर्षाैँदेखि अलपत्र हुँदा आफूहरुलाई जवाफ दिन समेत गाह्रो भईरहेको जिसस प्रमुख यादवको भनाई थियो । “सडक किनारमा ठूल्ठूला ढुंगासहितको ग्रावेल खसालिएको छु, यसबाट कस्तो सोल्जर बन्ने हो ? थुपारेर राख्दा दिनहुँ दुर्घटना भईरहेको छ,भुक्तानी लिनका लागि मात्र ग्रावेल खसालेको देखिन्छ”, उहाँले भन्नुभयो ।
हुलाकी राजमार्ग आयोजना कार्यालयका ईन्जिनियर विष्णु पाण्डेले ठूल्ठूला ढुंगासहितको ग्रावेल खसालेको थाहा पाउने वित्तिकै उक्त मिस्कट प्रयोगमा रोक लगाईएको बताउनुभयो । उक्त मिस्कट परिवर्तन गर्न ठेकेदारलाई आग्रह गरिएको तर अटेरी गरेको उहाँले बताउनुभयो । “ठेक्काको म्याद सकिएकोले ठेकेदारले आफ्नो ठेक्का जारी छ भनेर देखाउनका लागि मात्र मिस्कट खसालेको देखिन्छ, हामीले त्यसलाई परिवर्तन गरेर अर्काे सामग्री ल्याउन भनेका छौँ,गर्दीन भन्दैन् तर अटेरी गर्दै आएको छ”, उहाँले भन्नुभयो ।
कञ्चनजंघा विरुवा शिवशक्ति जेभीले २०७३ फागुन १५ गते सम्झौता गरी हुलाकी सडकको निर्माण थालेको थियो । दुई वर्ष भित्र सक्नुपर्ने यो सडक सात वर्ष वित्दा पनि पूरा हुन सकेको छैन् । आयोजनाले चौँथो पटक थपेको म्याद गत चैत ३० गते सकिएको छ । “ठेक्का तोड्दा फेरि शुरुदेखिको प्रक्रियामा जानुपर्छ, त्यसले गर्दा धेरै समय लाग्छ, हामी सकेसम्म यही ठेकेदारबाट काम पूरा गराउनतर्फ लागेका छौँ”, आयोजना कार्यालयका साईड ईन्जिनियर युवराज पाण्डेले भन्नुभयो । कामै नगरेकोले म्याद थप गर्न नसकिएको बताउँदै उहाँले ठेकेदारको अटेरीले आफूहरुलाई पनि तनाव बनाईरहेको बताउनुभयो ।
“सरकारले निर्माण पूरा हुने किसिमका आयोजनाको म्याद थपेर भएपनि निर्माण कार्य पूरा गर्न आदेश दिएकोले यस विषयमा हामी छिट्टै निर्णय लिन्छौँ”, उहाँले भन्नुभयो । १३ किलोमिटर दुरीको यो सडक खण्डको खराबस्थितिका कारण यस सडकमा ओहोरदोहोर गर्ने यात्रुहरुले सास्ती खेप्दै आएका छन् । निर्माण कम्पनीले एकातिर काम पूरा गरेको छैन्् भने अर्कोतिर काम गरेको पनि गुणस्तरीय छैन् ।
परासीतर्फको करिब डेढ किलोमिटर सडक गुणस्तरीय नभएको भन्दै पुनः बनाउनका लागि भत्काईए पनि काम भएको छैन् । परासीदेखि नारायणचोक सम्मकै पुल र कल्भर्टको दुवै तर्फ कालोपत्रे नगरी छोड्दा त्यहाँ .रहेका खाल्डाखुल्डीले दुर्घटना बढीरहेको छ । चिपसिल प्रविधिको कालोपत्रे गरिएपनि त्यसको टिकाउ नभएको भन्दै स्थानीयवासीले विरोध जनाउँदै आएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस