२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

सिए बनेर परासीमै खोले अनुरागले पहिलो सिए फर्म

२०८० अषाढ २९, शुक्रबार प्रकाशित ( साल अघि) ७११३ पाठक संख्या

मोहन पौडेल/दैनिक24 खबर
परासी, २९ असार । पश्चिम नवलपरासीका अनुराग अग्रवालले चार्टर्ड एकाउन्टेन्ट(सिए) अध्ययन पूरा गरी आफ्नै ठाउँमा पेशागत फर्म सञ्चालन गर्नुभएको छ। रामग्राम नगरपालिका–५ परासी निवासी २४ वर्षीय अग्रवालले भारत र नेपालबाट सिए कोर्स पूरा गरी आफ्नै ठाउँमा पेशागत फर्म सञ्चालन गर्नुभएको हो ।
सिए पढेर आफ्नै ठाउँ परासीमा पेशागत फर्म सञ्चालन गर्ने अग्रवाल परासीकै पहिलो सिए पनि बन्नुभएको छ । परासी क्षेत्रमा सिए गरेका पाँच÷सात जना भएपनि उनीहरु परासी भन्दा बाहिर काठमाडौँ लगायत देशका प्रमुख शहरहरुमा केन्द्रीत छन् । तर अनुराग अग्रवालले आफ्नै ठाउँमा सेवा गर्ने सोचका साथ फर्म सञ्चालनमा ल्याएकोले परासीमा सिए फर्म उहाँको पहिलो र एकमात्र हो ।
व्यापारिक घराना पृष्ठभूमिको परिवारमा जन्मनुभएका अग्रवालले भारतको दिल्लीस्थित ईन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट अफ ईन्डियाबाट चार वर्षको सिए कोर्स पूरा गरी नेपालको समेत मान्यता प्राप्त गर्न नेपाल चार्टड एकाउन्टेन्ट्स आईक्यानको परीक्षा(कानून र कर सम्बन्धी) समेत उत्र्तीण गर्नुभएको छ ।
चार्टड एकाउन्टेन्ट बनेपछि अग्रवालले आजदेखि परासीमा आफ्नै निवास घण्टाघर चोकमा अनुराग अग्रवाल एण्ड एसोसिएट्स नामक पेशागत फर्म सञ्चालनमा ल्याउनुका साथै परिवार र आफन्तजनसँग खुशीयाली साटासाट गर्नुभएको छ । “यो पेशा प्रोफेस्नल र धेरै माग भएको पेशा पनि हो, व्यवसायिक ब्याकराउण्डको परिवारमा जन्मेकोले यो क्षेत्रतिरै रुची जाग्यो, प्लस टुमा पनि व्यवस्थापन संकाय पढेको हुँ,आफ्नो ठाउँ छोड्न मन लागेन,यँही बसेर पेशालाई अगाडि बढाउने निर्णय गरेँ”, दैनिक24 खबरलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ।
स्वदेश तथा विदेशमा चार्टड एकाउन्टेन्टको माग बढ्दो छ । सिए पेशागत र सिपयुक्त शिक्षा हो । सिए उत्र्तीण जनशक्ति विशेषगरी लेखापरीक्षणको क्षेत्रमा खपत हुन्छ । लेखा, वित्तीय व्यवस्थापन, कर, कानून लगायतका क्षेत्रमा दक्ष हुने भएकोले पनि यो पेशामा आफूले धेरै अवसर देखेको सिए अग्रवालको भनाई थियो । नेपालका प्रमुख बैंकका प्रमुख पदहरुमा सिए नै रहेको पाईन्छ । यो शिक्षा पढेपछि सजिलै जागिर पाउनुका साथै आफै फर्म सञ्चालन गरेर मनग्य आम्दानी पनि गर्न सकिन्छ ।
“आफ्नो ठाउँमा एक जना पनि सिए नभएको तर अवसर धेरै भएकोले पनि परासीमै फर्म सञ्चालन गर्ने निर्णयमा पुँगेको हुँ, जागिर राम्रो पाउँथे,तर जागिरमा सीमित भईन्छ,आफ्नै फर्म हुँदा स्वतन्त्र भएर काम गर्न सहज हुन्छ,जागिर गरेर आफू सीमित हुनुभन्दा पनि आफैले जागिर दिनु उत्तम हो”, उहाँले भन्नुभयो । नवलपरासीमा ठूलाठूला उद्योगहरु स्थापना हुने क्रम बढ्दो अवस्थामा रहेको र औद्योगिक क्षेत्रको रुपमा अघि बढीरहेकोले पनि भोलिका दिन अवसरमय रहेको उहाँ बताउनुहुन्छ । “अब घर नजिकमै विश्वासिलो र दक्ष जनशक्तिबाट सेवा पाउने भएकोले अब अन्यन्त्र नजान म सुझाव दिन्छु, मलाई विश्वास गर्नुहुनेछ भन्ने आशा लिएको छु”, उहाँले भन्नुभयो । नवलपरासीमा सिए नहुँदा यहाँका ठूला उद्योगी व्यवसायी अन्य जिल्लाका सिएमा भर पर्नुपर्ने अवस्था थियो ।
अनुराम परासीका प्रतिष्ठित उद्योगी अमरचन्द्र अग्रवालका एक मात्र सुपुत्र हुनुहुन्छ । अनुरागले नर्सरीदेखि एसईईसम्मको अध्ययन परासीस्थित लिटिल प्लाण्ट मावि,प्लस टुको अध्ययन बुटवलस्थित न्यू होराईजन स्कूलबाट पूरा गर्नुएको हो । उद्योगी अमरचन्द्र अग्रवालका तीन सन्तान मध्ये जेठी छोरी ईन्जिनियर हुनुहुन्छ भने कान्छी छोरी पनि एमबीबीएस अध्ययनरत हुनुहन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२८%२६%६%३%२%९%

प्रतिक्रिया दिनुहोस